राजनीति

वडा सदस्यमै हारे पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान

By खबरहब

May 15, 2022

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले वडा सदस्यमै पराजित भएका छन् । 

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १ बाट नेकपा एमालेको तर्फबाट खुला वडा सदस्य लडेका पौडेललाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् । 

जिल्ला विकास समिति स्याङ्जाका पूर्व उपसभापति समेत भइसकेका पौडेललाई वालिङ–१ मा खसेको १ हजार ८ सय ३४ मतमा पौडेलले ६ सय ४५ मत पाएका थिए । यस्तै, उनलाई पराजित गरेका अर्यालले १ हजार १ सय १२ मत पाएका थिए । उक्त वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ। 

वालिङ नगरको मेयरमा दोस्रो कार्यकालका लागि कांग्रेसबाट दिलिपप्रताप खाँण र एमालेका कृष्ण खाँण उम्मेदवार छन्। वडा सदस्य निर्वाचित भएर जिल्ला समन्वय समितिमा जाने लक्ष्य राखेका पौडेलले पराजित भएपछि निर्वाचनमा हारजित स्वाभाविक भएको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिएका छन् । उनले चुनावमा होमिएपछि जित र हार स्वाभाविक प्रक्रिया रहेको उल्लेख गरेका छन् । 

 ‘जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो। सबै साथीहरू धैर्य बनौँ’ पौडेलले फेसबुकमा लेख्छन्,’अभियानमा सहयोग गर्नु हुने र मतदान गर्नु हुने सबैमा धन्यवाद ।’