तस्वीर- ल्हेटिकुभा

अन्तर्राष्ट्रिय

नेटोमा सदस्यताका लागि आवेदन दिने फिनल्याण्डको औपचारिक घोषणा

By खबरहब

May 15, 2022

काठमाडौं– फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तोलेले उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सदस्यताका लागि आवेदन दिने औपचारिक घोषणा गरेका छन् ।

राष्ट्रपति निनिस्तोले राजधानी हेलसिन्कीस्थित राष्ट्रपतीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेटोमा सदस्यताका लागि आवेदन दिने घोषणा गरेका हुन् ।

‘आज हामी राष्ट्रपति तथा सरकारको विदेश नीति समिति मिलेर फिनल्याण्डले नेटो सदस्यताका लागि आवेदन दिने निर्णय गरेका छौँ ।’ निनिस्तोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि गत बिहीबार राष्ट्रपति निनिस्तो तथा प्रधानमन्त्री सन्ना मारिनले आफूहरु नेटो सदस्यताको पक्षमा रहेको जनाएका थिए ।

लामो समयदेखि तटस्थताको नीति लिइरहेको फिनल्याण्डमा पछिल्लो समय रुसले युक्रेनमाथि आक्रमण गरेसँगै नेटो सदस्यताका लागि जनमत बलियो बन्दै गएको बताइन्छ ।

फिनल्याण्ड र रुसबीच १३ सय किलोमिटर लामो सीमा जोडिन्छ । फिनल्याण्डबाहेक अर्को उत्तर युरोपेली मुलुक स्विडेनले पनि नेटोमा सदस्यता दिनेबारे तयारी गरिरहेको रोयटर्सले जनाएको छ ।

यसअघि निनिस्तोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरी नेटोमा सदस्यता दिने फिनल्याण्डको तयारीबारे रुसलाई जानकारी गराएका थिए ।

जवाफमा राष्ट्रपति पुटिनले फिनल्याण्डको कदमले दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने चेतावनी दिएको रोयटर्सले जनाएको छ ।