बलिउड/हलिउड

अक्षयमा देखियो ‘कोरोना पोजेटिभ’

By खबरहब

May 15, 2022

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने नपाउने भएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजेटिभ भएको कारणले गर्दा कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन नसक्ने बताएका छन् । दोस्रो पटक कोरोना महामारीको शिकार भएका अक्षयले ट्विटमा आफू सहभागी हुने चाहना पुरा नभएकोमा दुःख व्यक्त गरेका हुन् । 

‘कान्स २०२२ को इन्डिया प्याभिलियन हाम्रो सिनेमा उद्योगको लागि धेरै उत्सुक विषय थियो । तर, दुःखको कुरा के छ भने मलाई कोरोना पोजेटिभ देखिएको छ । अनुराग ठाकुर तपाईं र तपाईंको सम्पूर्ण टिमलाई फेस्टिभलको लागि धेरै शुभकामना । म त्यहाँ उपस्थित हुन नपाउँदा फेस्टिभललाई धेरै मिस गर्नेछु’ अक्षयले ट्विटमा लेखेका छन् ।

उनलाई अघिल्लो वर्ष पनि कोरोना टेस्ट गर्दा पोजेटिभ देखिएको थियो । अक्षयलाई उनको फिल्म राम सेतुको सुटिङका क्रममा कोरोना सङ्क्रमण भएको थियो ।

उनी बाहेक फिल्मका केही सदस्यहरूमा पनि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फिल्मको सुटिङ  रोकिएको थियो  ।