तस्वीर- बीबीसी/गेटी इमेज

अन्तर्राष्ट्रिय

पाकिस्तानी मन्त्रीद्वारा चिया कम पिउन आह्वान, बिजुली जोगाउन चाँडै पसल बन्द गर्न सुझाव

By खबरहब

June 15, 2022

काठमाडौँ- देशको अर्थतन्त्र जोगाउन भन्दै पाकिस्तानका एक जना मन्त्रीले चिया कम पिउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।

एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’

उनले व्यापारीहरुलाई बिजुलीको उपभोग कम गर्नका लागि बेलुकी साढे ८ बजे नै पसल बन्द गर्न समेत आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

चिया कम पिउन मन्त्रीले दिएको सुझाव अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाकिस्तानमा चिया पारखीको ठूलो जनसंख्या रहेको जनाइएको छ ।

आतंकवाद र राजनीतिक संकटसँगै देश गम्भीर आर्थिक मन्दीबाट गुज्रिरहेका बेला पाकिस्तानी मन्त्रीले सर्वसाधारणलाई चिया कम पिउन आग्रह गरेका हुन् ।

पाकिस्तानको नयाँ सरकारले आगामी तीन वर्षमा ६ दशमलब ४ अर्ब डलर ऋण चुक्ता गरेर अन्तर्राष्ट्रिय मुद्रा कोषले तोकेको बेलआउट मापदण्ड पूरा गर्ने प्रयास गरिरहेको छ ।

बीबीसीका अनुसार पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता मुलुक हो । गत वर्षमात्रै पाकिस्तानले ६० करोड डलर बराबरको चिया आयात गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार औसत पाकिस्तानीले हरेक वर्ष एक किलो चिया पिउने गरेका छन् ।