ब्रेकिङ स्टोरी

भारतीय चलचित्रमा साहरुखका तीन दशक

By मनोज घिमिरे

July 15, 2022

गत महिना भारतीय अभिनेता साहरुख खानले हिन्दी सिनेमा प्रवेशको ३० औं वर्षगाँठ मनाएका छन्। यी बलिउड अभिनेताका बारेमा लेखिएको पुस्तकमा सराहना भट्टाचार्यले साहरुखको चार्म र क्रेज कसरी उत्तिकै छ भन्ने विषय उल्लेख गरेकी छन्।

उनको फिल्म उद्योगमा यसरी लामो समयको प्रभावका बारे बौद्धिक तहबाट नै बहस हुने गरेका छन्। यी बहसमा उनको लोकप्रियताको कारण यकिन गर्न केही सहज उपाय पनि अवलम्बन भएका छन्।

अहिले पनि उनका लाखौँ फ्यान छन्। उनको सम्मान गर्ने र उनी प्रति नतमस्तक हुनेको जमात पनि त्यत्तिकै छ।

उनको फिल्म र उनलाई मन पराउनको एउटा मुख्य कारण त उनका चलचित्र रोमान्टिक र भावुक दुवै भएर हो। उनले दक्षिण एसियाली भूमिको संस्कृति र पहिचान तथा जीवनशैली देखाउने अभिनय गरेका छन्। उनको अभिनयमा देखिने बहु आयामिक र विविधता लोकप्रियताको अर्को पाटो हो।

सन् १९९० को दशकमा भारत विश्व अर्थतन्त्रमा उदाइरहेकै समयमा साहरुख खान फिल्मी दुनियाँमा उदाएका थिए। यस अर्थमा भारतीय फिल्ममा साहरुख खानको उदय र भारतको आर्थिक वृद्धि एक आपसमा जोडिएका विषय हुन्।

बजारलाई पुन व्यवस्थित गर्दै नयाँ संरचना दिइने क्रममा भारतले टेलिकमको क्षेत्रमा विदेशी लगानी प्रवेश गराएको थियो। यो सँगै मिडिया नेटवर्कमा व्यापक वृद्धि भएको थियो। त्यस कालखण्डमा विकास भएका सञ्चार माध्यमले खानको फिल्म, गीत र अन्तरवार्तालाई घर घरमा लगेका थिए। आर्थिक उदारीकरणसँगै नयाँ कार र सवारी सधन भित्रिए। यीसँग साझेदार गरेर ब्रान्ड एम्बसडर बनेका उनी एकाएक धनाढ्य र सम्भ्रान्त परिवारका समेत रोल मोडल बनेका थिए।

दिल्लीको सेरोफेरोको उनको लोकप्रियता चुलिए पछि एकाएक विश्वव्यापी आइकन बनेका थिए। यस बीचमा उनी केही विवादमा भने नपरेका होइनन्। गत वर्ष छोरा आर्य खान गिरफ्तार परेका थिए।

भारतमा हिन्दू र मुस्लिम बीचको विवाद तथा आन्तरिक तुष कुनै स्थानमा यदाकदा नभएको होइन। साहरुखले भने आफूलाई सधैँ बहुआयामिक र सबैको स्वीकार्य व्यक्तिको रूपमा प्रस्तुत गर्दै लगे। उनका समर्थकले उनलाई बौद्धिक, ग्ल्यामरस, रोमान्टिक र भावुक अभिनेताको रूपमा मात्र आफ्नो रोल मोडल बनाइ राखे।

भारतमा पनि धार्मिक अतिवादी नभएका होइनन्। यस किसिमका अतिवादी हिन्दू र मुस्लिम दुवै धर्ममा छन्। मुस्लिम समुदायका खानले हिन्दू नारीसँग विवाह गरेपछि यस्ता अतिवादीहरू पनि उनी प्रति नतमस्तक बने। आफूले रोल मोडल मानेको साहरुखको व्यक्तिगत जिन्दगीकै कारण धेरै भारतीयमा धार्मिक र साम्प्रदायिक एकताको भाव अझ बलियो भएको थियो।

सबै भन्दा महत्त्वपूर्ण कुरा उनले अभिनय गरेका चलचित्रमा मानिसको स्वभावजन्य कमजोरीलाई प्रष्टसँग देखाइएको छ। प्रेमीको रूपमा, नायकको रूपमा, श्रीमानको रूपमा, हिन्दूको रूपमा र मुस्लिमको रूपमा रहेका मानिसका कमजोरीलाई प्रष्टसँग उनको अभिनयमा देख्न सकिन्छ। यसै चरित्रलाई नै उनका दर्शकले सबै भन्दा धेरै मन पराएका छन्। खलनायकमा रहेको कमजोरी पनि प्रष्ट देखिएको छ।

उनी रोमान्टिक सुपर स्टारको रूपमा परिचित छन्। उनका रोमान्टिक फिल्म दक्षिण एसिया भन्दा बाहिर पनि त्यत्तिकै सफल भएका छन्। फिल्म सफलताको तथ्यांक हेर्दा उनको चरित्रमा महिला प्रतिको आशक्तिमा धेरै नै सफलता मिलेको छ। तर, आश्चर्यको कुरा उनको चलचित्रमा देखाइने प्रेम महिला प्रति केन्द्रित हुनुलाई भने अचम्म मानिएको छ। धेरै जसो प्रेम महिलाप्रति नै छ। जीवन संगीनीको रूपमा पाउनलाई गरेको सङ्घर्ष धेरै चलचित्रमा छन्। बाजीगरमा भने उनको मातृ प्रेम अन्तिम समयमा देखाइएको थियो। जुन दृश्यले सबैलाई भावुक मात्र बनाउँदैन, एक पटक आँखा पनि पक्कै रसाउँछ।

उनको फिल्ममा देखाइएको हृदय विदारक दृश्य र उनको रुवाइ नै अर्को विशेषता बनेको छ। भारतीय फिल्म समीक्षकमा के समेत भन्न थालिएको छ भने पटकथा तयार पार्दा नै साहरुख यसमा कत्तिसम्म र कसरी रुन सक्छन् ? भन्ने अनुमान गरिएको छ।

उनका आँखाबाट बहेको आँसुसँग धेरै जना दर्शक पनि सँगै रुने गरेका छन्। फिल्मलाई छाड्ने हो भने उनका धेरै टिभी अन्तरवार्तामा उनी मानवतावादी मान्छे भएको प्रष्ट हुन्छ। अहिले पनि ग्रामीण क्षेत्रका धेरै जना उनको फिल्म भन्दा उनको अन्तरवार्ताको पारखी छन्। साहरुखलाई अहङ्कारी चरित्रको रूपमा पनि थुप्रै फिल्मका देख्न सकिन्छ। फिल्मको अन्त्यमा उनको अहङ्कारी पनको अन्त्य हुन्छ नै। उनका हरेक फिल्म उत्तिकै सफल भएका छैनन्। समीक्षकले उत्तिकै महत्त्व पनि दिएनन्। तथापि उनका हरेक फिल्म हेर्ने समयमा कसैलाई निराशा भने दिँदैन।

चेन स्मोकर र रमाइलो पाराका उनी व्यक्तिगत जीवनमा पनि त्यत्तिकै रमाइलो पात्र मानिन्छन्। आफ्नो साथी भाइको माझमा अलि खुलेर जोक गर्ने उनको आदत नै छ। उनको फिल्म र जीवनमा थुप्रै किस्सा बनेका छन्। यी किस्सामा उनलाई मेहनती, दुःख गर्न सक्ने र हास्य पात्रको रूपमासमेत चित्रण गरिएको छ। उनलाई नचिन्ने र सङ्गत नगर्नेको मनमा पनि उनको एउटा रमाइलो छवि बास बसेको छ।

सन् २०२३ मा रिलिज हुने गरी उनका तीन चलचित्र तयार भएका छन्। यी तीनै चलचित्रको उनका फ्यान व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन्। अहिले भारतीय भूमिमा धार्मिक अतिवादी सक्रिय रहेका छन्। कतै ती अतिवादीका कारण सामाजिक सञ्जालमा मुस्लिम विरोधी अभियान त चलाउने होइन भन्ने आशङ्का नभएको होइन। हाम्रो राजनीति विकृत भएको छ। यस विकृत राजनीतिमा साहरुख खानको चलचित्रले उत्पन्न गर्ने ह्युमर र हाँसोले भारतलाई मात्र नभई दक्षिण एसियालाई नै नयाँ ऊर्जा दिन सक्नेछ।

साहरुख खानको यो तीन दशक लामो यात्रामा दिल वाले दुलनीया ले जाएगाँ, देवदास, बाजीगर, डर र कुछकुछ होता हे सर्वाधिक सफल चलचित्रको रूपमा बजारमा स्थापित भए।

२७ वर्ष अगाडि स्क्रिनमा देखिएको साहरुख र काजलको त्यो प्रेम कहानीमा आफूलाई परिकल्पना गर्ने युवाको सङ्ख्या भारत र नेपालमा गरेर लाखौँ थियो। यसका हरेक डाइलग उत्तिकै कर्णप्रीय त छन् नै। साथै सम्झन लायक पनि। १८९ मिनेटको सो फिल्म १९९५ मा तयार भएको थियो। उनले चलचित्र क्षेत्रमा डेब्यू गरेको तीन वर्षमै एकाएक यो सफल चलचित्र बजारमा आएको हो।

सामान्य प्लटमा तयार गरिएको यो चलचित्रको अभिनय भने बेजोड छ। यूरोप र भारतको पृष्ठभूमिमा तयार पारिएको यो चलचित्रले काजोललाई पनि नयाँ उचाइ दिएको थियो। त्यो भन्दा तीन वर्ष अगाडि नै काजोल र साहरुखको बाजीगरले त त्यत्तिकै सनसनी फैलाएको थियो।

बाजीगरमा ती दुईको अभिनय त भारतीय कला क्षेत्रमा आइकन नै मानिन्छ। यसै चलचित्रबाट उनले फिल्म फेयर अवार्ड पाएका थिए। काजोलसँगको अर्को चलचित्र माई नेम इज खान उत्तिकै सफल र धेरैले मन पराइएको चलचित्र हो। संसारका मानव जाती एक हौं भन्ने भावनालाई जोडदार ढङ्गले उठाइएको यस चलचित्रले पनि राम्रो व्यापार गरेको थियो।

सन् २००२ मा रिलिज भएको देवदासमा साहरुखको अभिनय र त्यस फिल्मको डाइलग त अहिले पनि धेरै फिल्म पारखीलाई कण्ठै छ। उनका ३० वर्षे फिल्म यात्राले दक्षिण एसियाको संस्कृतिलाई एकत्रित गर्ने प्रयास त पक्कै गरेको छ। सायद उनको आगामी दिनको यात्राले यसलाई अझ बढी निख्खार दिनेछ। स्रोत : बीबीसी, आइएमडीबी