फाइल तस्वीर- द हिन्दू

अन्तर्राष्ट्रिय

१६ वर्षीया हिन्दू युवतीको अपहरण, धर्म परिवर्तन र विवाह गराएको भन्दै पाकिस्तानमा प्रदर्शन

By खबरहब

July 15, 2022

काठमाडौँ- पाकिस्तानी हिन्दू समुदायले पूर्व राष्ट्रपति आसिफ अली जर्दारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवतीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

अपहरित करिना नामकी हिन्दू युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनो नाम गरेका व्यक्तिको परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्ला क्षेत्रमा अपहरण गरेका थिए ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै जोनोसँग भागेर उनले कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।

प्रहरीका अनुसार खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको छ ।

पाकिस्तानी प्रहरीका एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन् । युवतीले आफूले चाहेको निर्णय गर्न सक्ने उनको भनाइ छ ।

हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले प्रहरी प्रकाशनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।