अन्तर्राष्ट्रिय

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

July 15, 2022

आज असार ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १५, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

चीनको अर्थतन्त्र सुस्तायो

चीनको आर्थिक वृद्धि चालु आर्थिक वर्ष सन् २०२२ को दोस्रो त्रैमासिकमा सुस्त बन्न पुगेको तथ्यांक सार्वजनिक भएको छ ।

कोरोना भाइरसको पछिल्लो लहरका बेला शून्य कोभिड नीति अपनाउँदै चीनले विभिन्न ठूला सहरहरुमा लकडाउन गरेसँगै चीनको आर्थिक वृद्धि सुस्त बन्न पुगेको हो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसबाट उत्पन्न विश्वव्यापी आर्थिक कठिनाइहरुका कारण चिनियाँ अर्थतन्त्र दबाबमा रहेको बताइन्छ ।

यो वर्षको अप्रिलदेखि जुन महिनासम्म चीनको कूल ग्राहस्थ उत्पादन केबल शून्य दशमलब ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

शुक्रबार प्रकाशित नयाँ तथ्यांकले चिनियाँ अर्थतन्त्रको धुमिल छवि प्रस्तुत गरेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् १९९२ मा चीनले तथ्यांक राख्न थालेयता यो त्रैमासिकमा दोस्रो सबैभन्दा सुस्त आर्थिक वृद्धि रेकर्ड गरिएको रोयटर्सले जनाएको छ ।

यसअघि कोरोना भाइरसको महामारीका बेला सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.९ प्रतिशतले संकुचित भएको थियो ।

रोयटर्सका अनुसार यो त्रैमासिकमा चीनको कूल ग्राहस्थ उत्पादन १ प्रतिशतले बढ्ने अपेक्षा गरिएको थियो । अघिल्लो त्रैमासिकमा भने चीनको अर्थतन्त्र ४ दशमलब ८ प्रतिशतले वृद्धि भएको तथ्यांक प्रकाशित गरिएको थियो ।

चीनले यो वर्षको मार्च र अप्रिल महिनामा कोरोना भाइरसको नयाँ लहर देखिएसँगै मुलुकका विभिन्न मुख्य सहरमा लकडाउनको घोषणा गरेको थियो ।

लकडाउन लागू गरिएको चीनको मुख्य वित्तीय केन्द्र साङ्घाईको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा १३ दशमलब ७ प्रतिशतले संकुचित भएको छ । त्यस्तै, सोही अवधिमा राजधानी बेइजिङको वृद्धि २ दशमलब ९ प्रतिशतले संकुचित भएको छ ।

लकडाउन एवम् अन्य नीतिहरु फुकुवा गरिएको र जुन महिनाको तथ्यांकले सकारात्मक सुधार देखाएपनि तत्काल चीनको अर्थतन्त्रमा तीव्र गतिमा विस्तार नहुने विश्लेषकहरु बताउँछन् ।

शून्य कोभिड नीतिका कारण चीनको सम्पत्ति बजार समस्यामा रहेको र विश्वव्यापी अवस्था पनि नकारात्मक रहेको रोयटर्सले जनाएको छ ।

श्रीलङ्काली प्रधानमन्त्रीद्वारा अन्तरिम राष्ट्रपतिको शपथ ग्रहण

भूतपूर्व राष्ट्रपति गोटाबाया राजापाक्षले दिएको राजीनामा संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले स्वीकृत गरेपछि श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले शुक्रबार अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष कार्यबाहक राष्ट्रपतिको शपथ लिएका हुन् ।

श्रीलङ्कामा देशैभरि वृहत् विरोध प्रदर्शन भइरहँदा यसअघि सभामुख महिन्दा यापा अबयवार्देनाले गोटाबाया राजपाक्षले राष्ट्रपतिको रुपमा दिएको राजीनामा स्वीकृत भएको बताएका थिए ।

त्यसअघि राष्ट्रपति राजपाक्ष माल्दिभ्सबाट भागेर सिंगापुर पुगेसँगै उतैबाट सभामुखलाई इमेल पठाएर बिहीबार राजीनामा दिएका थिए ।

श्रीलङ्का आर्थिक रूपमा टाट पल्टिएपछि त्यहाँ हजारौँ प्रदर्शनकारीले गोटाबायाको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए भने राष्ट्रपतिको निजी निवास समेत कब्जा गरेका थिए ।

श्रीलङ्कामा ज्यानको जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर सैनिकको सुरक्षामा माल्दिभ्स भागेका थिए ।

समाचार संस्था बीबीसीकाअनुसार राजापाक्षको राजीनामाको खबर आएपछि प्रदर्शनकारीहरुले श्रीलङ्कामा खुसीयाली मनाएका थिए ।

आन्दोलनकारीको निरन्तरको दबाबलाई साम्य पार्ने प्रयासस्वरूप सम्बोधन गर्दै एबेयवार्देनाले जुलाई १४ देखि राष्ट्रपतिले कानुनी रूपमा आफ्नो कानुनी कर्तव्य र जिम्मेवारीबाट राजीनामा दिएको बताए ।

उनले थपे, “यो प्रक्रिया सफलतापूर्वक र छिटो पूरा गर्ने मेरो मनसाय हो । प्रजातान्त्रिक परम्परालाई पवित्र राख्ने दक्षिण एसियाली क्षेत्रको सबैभन्दा पुरानो प्रजातन्त्र भएकाले यो प्रक्रियालाई पारदर्शी र प्रजातान्त्रिक ढंगले पूरा गर्नु श्रीलङ्काको इतिहासमा मात्र नभई विश्वको प्रजातान्त्रिक इतिहासमा पनि एउटा कोसेढुङ्गा हुनेछ ।”

उनले यस लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न पार्टीका नेता, राज्य पदाधिकारी र सुरक्षाकर्मीबाट सहयोगको लागि अनुरोध गरे ।

यसैबीच सिंगापुरको परराष्ट्र मन्त्रालयले राजपाक्षलाई निजी भ्रमणमा सिंगापुर प्रवेशको अनुमति दिएको पुष्टि गरेको छ । मन्त्रालयले भनेको छ, “उहाँले शरण माग्नुभएको छैन । शरण दिइएको पनि छैन ।”

माल्दिभ्सबाट बिहीबार साँझ साउदिया एअरलाइन्सको उडानमा सिंगापुर पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपाक्ष र उनकी पत्नी सिंगापुरमै रहने र मध्यपूर्वतर्फको थप यात्रा नगर्ने बताइएको छ ।

यसअघि विभिन्न सञ्चारमाध्यमद्वारा सार्वजनिक समाचारमा साउदी एअरलाइन्सको विमान एसभी–७८८ सिंगापुर पुगेका श्रीलङ्काका राष्ट्रपति र उनकी पत्नी साउदी अरबको जेदा जाने बताइएको थियो ।

जुलाई ९ मा प्रदर्शनकारीको भीडले राष्ट्रपतिको निवासमा आक्रमण गरेपछि ७३ बर्षीय राजपाक्ष देशको कुनै स्थानमा लुकेर बसेका थिए । यसपछि राजपाक्ष आफ्नी पत्नीसँगै सुटुक्क माल्दिभ्सतर्फ लागेका थिए । उनले गत बुधबार आफ्नो राजीनामा पत्र हस्तान्तरण गर्ने घोषणा गरेका थिए ।

उनको अनुपस्थिति र राष्ट्रपति पदबाट राजिनापछि मुलुकको संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेलाई श्रीलङ्काको अन्तरिम राष्ट्रपति नियुक्त गरिएको थियो ।

शनिबार फोर्टस्थित राष्ट्रपति भवनमा हजारौं प्रदर्शनकारी प्रवेश गरी कार्यालय कब्जा गरेपछि राजपाक्ष त्यहाँबाट सुरक्षाकर्मीको सहयोगमा भागेर सुरक्षित स्थानमा जान बाध्य भएका थिए ।

कोलम्बोमा उच्च सुरक्षा सतर्कता

श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।

श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका थिए । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका थिए ।

आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजिनामाको माग गरेका थिए ।

अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ ।

बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको बताइन्छ ।

इटालीका प्रधानमन्त्रीद्वारा राजीनामा

इटलीका प्रधानमन्त्री मारियो ड्रघीले राजीनामा दिएका छन् । गठबन्धनका सहयोगी पार्टीले समर्थन फिर्ता लिएपछि उनले राजीनामा दिएका हुन् ।

२०२१ को फेब्रुअरीमा सत्ता सम्हालेका ड्रघीले राजीनामासँगैको एउटा विज्ञप्तिमा गठबन्धनमा विश्वास कायम राख्न नसकेको उल्लेख गरेका छन् ।

ड्रघीले आगामी बुधबार संसदमा संवोधन गर्नेछन् । त्यसपछि मात्रै पुनः सरकारमा रहने वा छोड्ने भन्ने निधो अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँका राष्ट्रपति सर्जियो मटेरेलाले भने प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेका छन् ।

डोनाल्ड ट्रम्पकी पूर्वपत्नीको निधन

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इभाना ट्रम्पको निधन भएको छ ।

न्यूयोर्कस्थित आफ्नै निवासमा ७३ वर्षीया इभाना मृत फेला परेकी हुन् । घरको एउटा सीढी नजिकै बेहोस अवस्थामा फेला परेकोले उनी खसेको हुनसक्ने अनुमान गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

‘उनी अद्भुत, सुन्दर र महान प्रेरणादायी जीवन बाचिन्’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् । डोनाल्ड ट्रम्पले उनीसँग सन् १९७७ मा विवाह गरेका थिए । विवाहको १५ वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । उनीबाट जुनियर डोनाल्ड ट्रम्प, इभान्का र इरिक गरी तीन सन्तान छन् ।

रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका बेलायती नागरिकको मृत्यु

पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका एकजना बेलायती नागरिकको मृत्यु भएको छ । शुक्रबार स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ ले बेलायती नागरिक ४५ वर्षे पल उरेको मृत्यु भएको जनाएको हो ।

एउटा गैर सरकारी सहायता संस्थामा काम गर्ने उरेलाई रुस समर्थित फौजले गत अप्रिल महिनाको अन्त्यतिर दक्षिणपूर्वी युक्रेनबाट पक्राउ गरेका थिए । उनीमाथि ‘भाडाको सैन्य गतिविधि’ मा संलग्न भएको अभियोग लगाइएको थियो ।

गैर सरकारी सहायता संस्था प्रेसिडियम नेटवर्कले युद्धमोर्चामा पठाउनुअघि उरेलाई त्यहाँ उत्पन्न हुनसक्ने जोखिमबारे अवगत गराइएको जनाएको छ । उनी मानवीय स्वयंसेवी रहेको समेत उक्त संस्थाले टिप्पणी गरेको छ । यस संस्थाका अनुसार बेलायती विदेश मन्त्रालयले उनका परिवारलाई उनको मृत्यु भएकोबारे जानकारी दिइसकेको छ ।

यसबारे बेलायती विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘डोनेत्स्क जनगणतन्त्र’ की मानव अधिकार अभियन्ता डारिया मोरोजोभाले उरे चिनीरोग, श्वास प्रश्वासमा समस्या, मिर्गौलामा समस्या र हृदयसम्बन्धी रोगबाट पीडित रहेको जनाएकी छिन् ।

‘संदिग्ध अपराधको संवेदनशीलताका बावजुद हामीले पल उरेललाई उपयुक्त चिकित्सा सहायता प्रदान गरेका थियौँ । यद्यपि, रोगको परीक्षण र तनावका कारण उनी गत जुलाईमा विदा भए ।’ उनले भनिन् ।

गत अप्रिल महिनाको अन्त्यतिर उरे र अर्का बेलायती नागरिक डेलन हेलीलाई पृथकतावादी लडाकुले नियन्त्रणमा लिएका थिए ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण गरेसँगै रुसी फौजको अधिनमा रहेका युक्रेनी भूभागमा रहेका विदेशी नागरिक पृथकतावादीको निशानामा पर्दै आएको बताइन्छ । यसअघि डोनेत्स्क जनगणतन्त्रकै अदालतले एकजना मोरक्कन र अरु दुई बेलायती नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

पाकिस्तानमा हिन्दू समुदायको प्रदर्शन

पाकिस्तानी हिन्दू समुदायले पूर्व राष्ट्रपति आसिफ अली जर्दारीको सिन्ध प्रान्तको नवाबशाहस्थित निवास अगाडि १६ वर्षीया युवतीको अपहरण, जबरजस्ती धर्म परिवर्तन र विवाह गराएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

अपहरित करिना नामकी हिन्दू युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलील रहमान जोनो नाम गरेका व्यक्तिको परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्ला क्षेत्रमा अपहरण गरेका थिए ।

प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए । स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै जोनोसँग भागेर उनले कराँचीको अदालतमा विवाह गरेको बताएको छ ।

प्रहरीका अनुसार खलीलका बुबा असगर जोनोलाई धारा ३६५ बी बमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको छ ।

पाकिस्तानी प्रहरीका एसएसपीले करीना र खलील रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेश गरिने बताएका छन् । युवतीले आफूले चाहेको निर्णय गर्न सक्ने उनको भनाइ छ ।

हिन्दू पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दू समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले प्रहरी प्रकाशनबाट आफूहरूलाई सहयोग नभएको बताएका छन् ।

पाकिस्तानमा महिला, अल्पसङ्ख्यक, बालबालिका र सञ्चारकर्मीहरू माथि विभिन्न दमन र अधिकार उल्लङ्घनका घटनाहरू बढेको पाइएको छ ।