काठमाडौँ – स्थानीय तहको चुनावमा गठबन्धन तहबाट धोका पाएको निष्कर्ष निकालेको एकीकृत समाजवादी पार्टीले आगामी प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि सत्ता गठबन्धनमा तालमेल गर्ने निर्णयमा छ । नयाँ गठबन्धन बन्न नसक्ने र एक्लै अघि बढ्दा परिणाम झन् कमजोर आउने भएपछि सत्ता गठबन्धनभित्र गल्ती दोहोरिन नदिने गरी आफ्नो आवाजलाई प्राथमिकतामा राख्ने गरी अगाडि बढ्ने एकीकृत समाजवादीको तयारी छ । नेकपा एकीकृत समाजवादीको अबको चुनाव तयारी कस्तो छ ? लगायतका विषयवस्तुहरुमा आधारित भएर पार्टीका उप–महासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडासँग चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
आगामी चुनावका लागि नेकपा एकीकृत समाजवादीको तयारी कस्तो छ ? गठबन्धनमा मुख्य त तीन ओटा विषयहरू पर्दछन् । पहिलो उपयुक्त ढङ्गले सिट बाँडफाँड गर्ने विषय । दोस्रो आफ्ना एजेन्डाहरू फिक्स गर्ने र तेस्रो विजयको सुनिश्चिततालाई आधार बनाएर हिँड्ने । पाँच वर्षको राजनीतिक स्थायित्वको लागि सरकार सञ्चालनका लागि विकासको एजेन्डा, भोलि पर्न सक्ने विवादहरूमा समाधान गर्न सक्ने उपायहरू, राष्ट्रिय हितलाई प्राथमिकता दिने तरिकाहरूलाई आधार बनाएर चुनावमा जाने हाम्रो तयारी छ ।
गठबन्धनमा तपाईँहरुले कति सिट पाउने अनि कति सिटको माग गर्ने तयारी छ ? अहिले जति भने पनि यो सबैको सहमतिमा हुन्छ । सरदरमा नेपाली कांग्रेस ४० प्रतिशतमा बस्ला । बाँकी अरु सबै ५५ वा ६० प्रतिशतमा आफ्नो क्षमता अनुसार होला । हाम्रो लागि पनि गर्ने विषय धेरै छन् । किनभने गठबन्धनको कारणले हामीले यसपाली उम्मेदवार कम दियौँ । देशभरिमा हाम्रो भोट कति छ भन्ने नै थाहा भएन । त्यसकारण नेपाली कांग्रेस ठुलो दल भएकोले त्यो कहाँ बस्छ अनि बाँकी अरू पार्टीहरूलाई आउला । त्यसबाट २० देखि २५ प्रतिशत हामी पनि त्यसको दाबेदार हौँला ।
कांग्रेसको केन्दिय समितिबाट १६५ निर्वाचन क्षेत्रबाट १०० सिट आफूले राख्ने र बाँकी ६० बाँड्ने भन्दा काँग्रेस र माओवादीले एकीकृत समाजवादीलाई सम्मानजनक स्थान देलान् भनेर आश गर्ने ठाउँ त निकै थोरै छ नि ? गएको स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीलाई सम्मानजनक स्थान नदिँदा हामीले ७० देखि १०० वटा प्रमुख गुमायौँ । त्यो अनुभव उहाँहरूलाई छ । एकीकृत समाजवादी पाटी आफै अगाडि आउँछ । १२ देखि १५ लाख समानुपातिक मतादाता आजको अवस्थामा छन् भने अनुमान पनि उनीहरूले गरेका छन् । विभिन्न योजना र एजेन्डा बनायो भने यो संख्या बढ्छ भन्ने पनि थाहा छ । स्थानीय चुनावको जस्तो पेचिलो विषय पनि हैन । किनकि त्यहाँ व्यक्ति व्यक्ति.चुनाव लड्छन् । यहाँ पार्टीको झन्डा र चुनाव चिन्हका लड्छन् । त्यसैले उहाँहरूले त्यो सुधार गर्छौ भन्नु भएको छ । हामीले ५० प्रतिशत नै त मागेका छैनौँ । हामीले देशव्यापी रूपमा आफ्नो व्यक्तित्व निर्माण गरिसकेका पार्टीहरू विभिन्न पोस्टरहरू मिलाउँदा २० देखि २५ प्रतिशतमा कुनै ठाउँमा हाम्रो दाबी छ ।
सिट बाँडफाँडमा सहमति हुने सम्भावना कत्तिको छ ? सिट अरू सबै अरूलाई दिएर आफू त्यसै बस त जनताले पनि भनेका छैनन् । त्यसैले सबैले बराबरी मिलाएर लिनु भनेर जनताले भनेका हुन् । सत्ता र शक्तिका बिच सबैको झगडा हुन्छ । राष्ट्रिय एजेन्डा धेरै ठुलो कुरा हो । जब चुनाव आयो टिकटको नै चर्चा हुने भयो । टिकटको चर्चा चलिरहँदा राष्ट्रिय एजेन्डालाई उतिकै महत्व देऊ भन्नु स्वाभाविक हो । तर टिकट नै बाँड्ने कुरामा राष्ट्रियताको कुरा हुँदैन । राष्ट्रियताका कुरा त घोषण पत्रमा आउनु पर्यो। काम गर्ने इच्छा शक्तिमा आउनु पर्यो देश । जनताको समस्याहरूलाई घोषणा पत्रमा अभिव्यक्त गर्ने र ५ वर्ष भित्र म यी यी काम गर्छु भन्ने प्रतिबद्धतामा आउनु पर्यो।
यदि एक्लै लड्ने हो भने त माओवादी जम्मा ८ सिट जित्न सक्षम छ । बाँकी कांग्रेस र एमालेले जित्छ भने अध्ययन रिपोर्टले देखाउँछ ? तपाईहरुलाई एक्लै १ सिट जित्न पनि मुश्किल छ नि ? एक्लै एक्लै फलानोले जित्छ भन्ने छैन । आफ्नो कार्यकर्ताहरू यो मेरो पार्टीको हो भन्न पाइयो । किनकि सदस्यता दिइएको हुन्छ । तर जनता भनेको कसले कस्तो एजेन्डा र उसको कार्यशैलीलाई हेर्ने हो । हिजो यसले यति ल्यायो भन्नेमा हुँदैन । देशको राजनीतिको समीकरण एकाएक परिवर्तन पनि हुन सक्छ । कति वटा सिट जित्छौ भन्ने पछि चुनाव पछाडि एक्ला एक्लै सबै चुनाव लड्ने हो भने भन्न मिल्थ्यो । तर कोही कुनै पार्टी एक्लै चुनाव लड्दैन । एमाले, काँग्रेस, माओवादी एक्लै चुनाव लड्न सक्दैन जब ठुला पार्टीहरू नै एकलै लड्दैनन् भने साना पार्टीहरू पनि लड्दैनन् ।
यदि गठबन्धनमा तपाईँले मागेको सिट पाउनु भएन भने कि एमालेसँग मिल्नुपर्यो कि आफै चुनावमा कमजोर हुनुपर्यो ? यही विकल्प बाँकी होइन र ? राजनीति भनेको एउटा सम्भावनाको खेल हो । यो सम्भावनाको खेलमा मै हुँ भन्ने ठुला दलहरू पनि पराजित हुन्छन् । सरकारमा जाने ठाउँ नभएसम्म ठुला दल सरकारमा नेतृत्व गर्न पाए उसले आफूलाई ठुलो देख्ने र अरूलाई सानो देख्ने हुन्छ । त्यसैले कुनै एउटा राजनीतिक दलले स्वतः सरकारमा नेतृत्व गर्न सक्दैन भने दुई चार सिट तल माथि भएर केही असर गर्दैन । हाम्रो देशको राजनीतिमा कुनै एउटा दलले बहुमत ल्याएर सरकार चल्न सक्ने आजको परिस्थिति नै छैन । त्यसैले एउटाले ८० सिट ल्याउला अर्कोले ६० सिट ल्याउला म ठुलो हुँ त भन्न त सक्ला । तर राष्ट्रका हिसाबमा कुरा उतिकै हो ।
एकीकृत समाजवादीले आवश्यकता पर्दा एक्लै चुनाव लड्ने र वामपन्थी शक्तिहरुबीच ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । तर अहिले त्यसैमा गठबन्धनको भर पर्ने स्थिति भयो । अलि अलि डराउनुभयो कि जस्तो देखियो ? डरको स्थिति अहिले हामीलाई भन्दा पनि ठुला पार्टीहरू काँग्रेस र एमालेलाई छ । किनभने पहिले पनि हामीले यति सिट ल्याएका थियौँ । अब २ सिट घट्यौँ भने भन्ने डर छ । तर हामी विद्रोह गरेर नयाँ युगलाई नयाँ ढङ्गले विकास गरौँ भनेर उठेका पार्टी हौँ । त्यसमा हामीलाई कुनै चिन्ता छैन । आजै हामीले सरकार बनाउने पनि हैन । तर हामी नभई अर्काले सरकार बनाउन सक्दैन भन्ने झल्झली चित्र हामीले देखेका छौँ ।
कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई पेलेरै जाने हो भने तपाईहरुले नयाँ मोर्चा बनाउने सम्भावना कति छ ? कांग्रेसको भन्दा पनि माओवादीको पनि एक्लै हिँडेर कुनै भविष्य छैन । अहिले प्राविधिक रूपमा स्थानीय चुनावमा पेलपाल ठेलाठेल गरेर अलिकति अगाडि गए पनि रेसियोमा नेपालको जनमतबाट विस्थापित हुँदैछ । कमजोर बन्दै छ । एउटा अवसरवादी ढंगले कहिले कोसँग कहिले कोसँग मिलेर गइरहेको छ । एक्लै चुनावमा जान सक्दैन । स्थानीय तहबाट आएको भोट त्यहाँको प्रदेश र संघीय निर्वाचनको छेत्रमा माओवादी र कांग्रेसलाई नै हाल्ने वातावरण बनाउन एकीकृत समाजवादीको उम्मेदवारी हुनु जरुरी छ । यदि हाम्रो उम्मेदवारी भएन भने तल कार्यकर्ता पुरै विभाजित भैसकेको छ । त्यसको असर एमालेले पनि लिन सक्छ भन्ने उनीहरूलाई परेको छ ।
चुनावमा अब घोषणापत्रको तयारी पनि होला, के–के एजेन्डा बनाउँदै हुनुहुन्छ ? मुलत: विकासमा न्याय समाजमा न्याय राष्ट्रिय एजेन्डा, वातावरण संरक्षणका विषयहरू जनताको जीवनस्तरलाई सुधार गर्न कुनै काम गर्न सकिएन । जनताको बिचमा न्याय विकास गर्न सकिएन भने राजनीतिक दलहरू गठन हुनु र सत्ता सञ्चालन गर्नुको औचित्य पनि कम हुन्छ । हामी त्यही विषयहरू घोषणमा पत्रमा राख्छौँ । अराजकता, काम गर्नेहरूको असफलता, आज गरेका राजनीतिक दलहरूले गरेको गल्तीलाई पनि उसले नै स्विकार्नु पर्दछ । यो स्वतन्त्रका नाटक गर्नेहरूले यो देश चलाएका पनि हैन र चलाउँदैनन् । यसले मुलुकलाई सिस्टम दिँदैन ।
समग्र देशको शासन प्रणालीभित्र उनीहरू छिर्दैनन् । त्यसैले सिस्टमबाट बाहिर भयो भने समाजलाई रूपान्तरण गर्दैनन्। त्यसैले सैद्धान्तिक र दृष्टिकोणमा क्लियर हुनु पर्यो। दलीय प्रणालीका स्वतन्त्रहरूको निश्चित व्यक्तिगत भूमिका हुन्छ । तर प्रणालीगत भूमिका दलीय प्रणालीबाट नै हुन्छ । सिङ्गो संविधान दलीय प्रणाली भित्र चल्छ । व्यक्तिले प्रणालीलाई परिवर्तन गर्न सक्दैन । त्यसकारण सिस्टमको आवश्यकता हुन्छ । सिस्टमको एउटा नभएसम्म त्यो स्वतन्त्र भन्ने पनि तत्कालको लागि आउँछ । लामो समय टिक्दैन । ५ वर्ष भन्दा पछाडि ऊ स्वतन्त्र भएर चुनाव लड्न सक्दैन । किनभने त्यसभित्र ‘ब्याकअप’ राजनीतिक फोर्स नै तयार हुँदैन । त्यसैले त्यसलाई मौसमी वायु भन्दा हुन्छ । उसलाई सम्मान गर्नु पर्दछ सहकार्य पनि गर्नु पर्दछ । तर यो अस्थायी हो भनेर बुझ्नु पर्दछ ।
आउने चुनावमा तपाई आफै कुन क्षेत्रबाट उठ्नुहुन्छ ? मेरो घर उदयपुर २ हो । त्यहाँबाट नै उठ्छु । यसको लागि गठबन्धनमा छलफल भइरहेको छ । मैले गठबन्धनबाट टिकट पाउँछु भन्ने छ । तर राजनीति हो सबै कुरा आफ्नो विश्वास छ भनेर मात्रै हुँदैन ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)