अन्तर्वार्ता

विचार मिल्नेसँग एकता गर्ने व्यवस्था विधानमा छ

By चन्द्रकान्त न्यौपाने

August 15, 2022

हालै मात्र जनता समाजवादी पार्टीबाट फुटेर नेपाल समाजवादी पार्टी गठन गरेका डा.बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निष्कर्षमा पुगेका छन् । आन्तरिक लडाईका कारण उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुट्टिएका भट्टराई सुरुमा माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने विषयमा छलफल गरिरहेका थिए । तर पछिल्लो दुई दिनयता माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता हुने सहमति अन्तिम चरणमा पुगेको समाचार आइरहेका छन् । आखिर बाबुराम भट्टराई नेतृत्वको नेसपा यति छिट्टै माओवादीसँग एकता गर्ने निष्कर्षमा कसरी पुग्यो ? यसै विषयमा खबरहबका लागि चन्द्रकान्त न्यौपानेले नेपाल समाजवादी पार्टीका महासचिव रमेश यादवसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाईँहरू चुनावमा माओवादीसँग मिल्न र एकता गर्नैका लागि उपेन्द्र यादवको जसपाबाट अलग्गिनु भएको हो ? पहिला नै समाजवादी केन्द्र बनाउने र त्यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी अनि वामदेव जी र हाम्रो योजना थियो । तर त्यो सफल भएन । अब यो गठबन्धनमा गएर चुनाव गर्दा राम्रो हुन्छ भन्ने हाम्रो योजना छ । पहिलाको पाँच दलीय गठबन्धनमा हाम्रो पनि हिस्सा छ । हिजो हाम्रो डाक्टर बाबुराम भट्टराई र प्रचण्डबीचमा छलफल भएको थियो । त्यसको लागि एउटा योजना बनाएर दुवै तर्फबाट टिम बनाएर छलफल गर्नु पर्दछ । हाम्रो धारणा त कतै कसैको टिममा नगएर एउटा नयाँ टिम लिएर जाऊ भन्ने पनि छ ।

जसपाबाट छुटेर फेरि जसपा सम्मिलित सत्ता गठबन्धनभन्दा प्रचण्डसँग मिल्नुमा बढी फाइदा देख्नु भएको हो ? जसपा पहिलेदेखि नै गठबन्धनमा छ । त्यतिबेला त्यसको नेतृत्व त डाक्टर बाबुराम भट्टराईले नै गर्नु भयो । गठबन्धन प्रति हाम्रो अधिकार छ । जहाँ सम्म नेपाली कांग्रेससँगको छुट्टै कुरा छ । हामी एउटा मुद्दा बनाएर समाजवादी बनाएर जाने पहल थियो । तर त्यो हुन सकेन अब प्रचण्ड जी, माधव जी र नेसपाको मिलाएर अगाडि बढ्ने छलफल भइरहेको छ । त्यो कत्तिको सफल हुन्छ । हेर्दै जाऔँ ।

अब चुनावमा कसरी अगाडि बढ्नुहुन्छ, माओवादीसँग एकताको कुरा छ, कतै यो चुनावका लागि निकालिएको कुरा मात्रै त होइन नि ? पुरानो सेन्ट्रल कमिटी मेम्बर हामीसँग २०५ जना छौँ । अलि बढी पनि होला । तर त्यसमा १५० जना कहिले कता जान्छन् । कहिले कता पहिला हाम्रो ५०० जना कमिटी सदस्य थिए । तर अहिले पुरानो १५२ जना हाम्रो साथमा छन् । उहाँहरूकोमा धेरै होला । तर नेता कार्यकर्ता कति छन् भनेर भन्न मिल्दैन । नेता कार्यकर्ताहरू आउने जाने क्रम भइरहन्छ । जहाँसम्म माओवादीसँग एकताको विषय छ, यो छलफल चलिरहेको विषय हो । छलफल निष्कर्षमा पुगेपछि मात्रै भन्न सकिन्छ ।

जसपा फुटाएर छुट्टै पार्टी बनाउन तपाईहरु पहिलेदेखि नै सक्रिय रहेको चर्चा छ नि ? पार्टी फुटाउनै थियो भने उहाँको नयाँ शक्ति पार्टी र हाम्रो राजपा थियो । हामी किन त्यहाँ गयौँ त । महेन्द्र यादव सांसद बन्नु भयो । त्यहाँको मसाल छापमा लेख्नु भएको थिएन । बाबुराम जी जाँदा त्यहाँको मसाल छापमा लेख्नु भएको थिएन । एउटा मिसन भएर यो देशमा पछाडि पारिएका कांग्रेस र कम्युनिस्टको एउटा धार तयार गरेर नीति मिलाउनको लागि यो पछाडि पारेका जाति जनजाति सबैलाई अगाडि बढाएर अगाडि बढ्ने कुरा बनाए । तर त्यो रूपान्तरण हुन सकेन । उहाँको एउटा क्षेत्रीय पार्टी बनाएर २ नम्बर प्रदेशमा बुझाउने करा गर्ने । तर त्यसलाई व्यवहारमा नउतार्ने । उपेन्द्र यादवको पार्टी भनेको एउटा क्षेत्रीयतावादी पार्टी हो । यसले हिमाल पहाड तराई कसैलाई पनि समेट्दैन ।

पार्टी फुटाउन बाबुराम भट्टराईको गल्ती छैन त्यसोभए ? म एक सय चोटि भन्छु उहाँको कुनै गल्ती छैन । उहाँलाई ठुलो दुःख छ । उहाँले त सबैलाई मैले गल्ती गरेको भए आउनु छलफल गरौँ भन्नु भएको छ ।

यदि प्रचण्डसँग पनि कुरा मिलेन, एकता नहुने भयो, सत्ता गठबन्धनसँग पनि तालमेल हुन सकेन भने एक्लै चुनाव लड्ने योजना हो तपाईहरुको ? एक्लै लड्नको लागि नै पार्टी दर्ता गरेको हो । हामी हाम्रो शक्तिको आधारमा लड्छौँ । राम्रोसँग गठबन्धन गर्यो भने हामी गठबन्धन गछौँ । ७७ जिल्लामा नै हाम्रो सङ्गठन छ । एक्लै पनि लड्न तयार छौँ । जनताको हातमा हुन्छ, कसको मत कति हुन्छ भन्ने त चुनावको नतिजाले भनिहाल्छ नै ।

मधेस आन्दोलनमा लागेका पार्टीहरूसँग तपाईहरुको छुट्टै गठबन्धन बन्न सक्छ कि सक्दैन ? हाम्रो त्यो विषयमा नै त कुरा भएको छैन । तर एमाले अध्यक्ष केपी शर्मा ओलीजीसँग डा.बाबुराम भट्टराईको छलफल भएको छ । हाम्रो विचार मिल्नेहरूसँग एकता वा गठबन्धन गर्न सकिने त विधानमा नै छ ।

अन्तिममा, तपाई कुन क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ ? म बाराको क्षेत्र नं २ बाट प्रतिनिधि सभामा उठ्छु । पहिला पनि त्यही क्षेत्रबाट नै दाबी गरेको थिएँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)