खेलकुद

सुरुवातमै म्यान्चेष्टर युनाइटेडको नाजुक प्रदर्शन

By एसेन्स श्रेष्ठ

August 15, 2022

‘क्लास अफ ९२’

त्यो फुटबल टोली जसले म्यानचेष्टर युनाइटेडलाई विश्वमा नै पहिचान दियो । त्यो युनाइटेडका सफल प्रशिक्षक सर एलेक्स फर्गुसनले बनाएको एक सफल टोली थियो । यसै टोलीको कालखण्डलाई युनाइटेडको स्वर्णयुगको रुपमा पनि चिनिन्छ ।

यस टोलीमा डेभिड बेकहाम, रायन गीग्स, निक्की बट र ग्यारी नेभाइल जस्ता खेलाडीहरूको उपस्थिति थियो । यो टोलीले युनाइटेडलाई ६ प्रिमियर लिग, २ एफए कप, २ एफए कम्युनिटी शिल्ड, १ च्याम्पियन्स लिग र एक इन्टरकन्टिनेन्टल कपको उपाधि जिताएको थियो ।

तर, दुई दशकपश्चात युनाइटेड आश्वासनको लागि पनि हारगुहार गर्छ भने कसैले सोचेको थिएन । अहिले ठीक यस्तै भइरहेको छ । यो सिजन म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा हाँसो मजाकको टिम बनिरहेको छ ।

शनिबार भएको ब्रेन्टफर्डविरुद्धको खेलमा युनाइटेडले पहिलो हाफमा नै ४–० गोलको क्षति बेहोरेसँगै उसको क्षमतामा नै प्रश्न चिन्ह खडा भएको छ । ब्राइटनविरुद्धको पहिलो खेलमा पनि युनाइटेड २–१ गोलले पराजित भएको थियो ।

सो खेलमा प्रमुख खेलाडी क्रिष्टियानो रोनाल्डो बेन्चमा थिए । दोस्रो हाफमा उनी मैदान छिरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । ब्रेन्टफर्डविरुद्धको खेलमा रोनाल्डो सुरुदेखि नै खेलेका थिए । तर टिमले झन् ठूलो हार बेहोर्‍यो ।

लगातार दोस्रो हारपछि युनाइटेड प्रिमियर लिग अंक तालिकाको पुछारमा छ । दुवै खेलमा प्रभावशाली जित निकालेको म्यानचेष्टर सिटी भने शीर्ष स्थानमा छ ।

सहरी प्रतिद्वन्द्वी बलियो अवस्थामा हुँदा युनाइटेड निकै जटिल अवस्थामा छ । अब तेस्रो खेलमा पनि हार व्यहोरे प्रशिक्षक एरिक टेन ह्याग बर्खास्त हुनेछन् ।

अजाक्सका सफल प्रशिक्षक ह्यागको प्रशिक्षणमा युनाईटेड झन् खराब अवस्थामा पुगेको छ । दुई वर्ष अघिको सिजनमा युनाईटेड दोस्रो स्थानमा थियो । तर दुई वर्षमा युनाईटेड झन् खराब हालतमा पुगेको छ । यसका पछाडि टिम व्यवस्थापन गर्न नसकेका प्रशिक्षकको जागिर धरापमा पर्नु स्वभाविक हो । यो युनाईटेडको अगाडि देखिएको झन् डरलाग्दो बाटो हो ।

हारका सम्भावित कारण पराजय पछिको कारण जे भएपनि यसले युनाइटेडको छविलाई निकै असर गरेको छ । युनाइटेडका समर्थकहरूले पनि एक लज्जास्पद अवस्थाको चरम विन्दुको सामना गरिरहेका छन् । युनाइटेडको लागि रणनीति र वास्तविकतामा ठुलो अन्तर आएको पनि सहजै देख्न सकिन्छ ।

अर्को, युनाइटेडलाई डुब्दै गएको घाम बनाउनमा खेलाडीबीचको संयोजनको अभाव पनि मुख्य पाटो बनेको छ । युनाइटेडको विगतको २ खेललाई हेर्दा पनि खेलाडीहरूको बीच राम्रो तालमेलको पनि अभाव देखिन्छ ।

गोल रक्षक डेभिडको प्रदर्शन पनि सन्तोषजनक छैन । दोस्रो पराजयको जिम्मा आफैले लिए पनि एक दशकभन्दा बढि युनाइटेडमा रहेका डेभिडको तालिमलाई विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

साथै कप्तान ह्यारी मेग्वायरको नेतृत्वले पनि आमूल परिवर्तन ल्याउन सकेको छैन । उसो त उनी गएको सिजनदेखि नै विवादित छन् । उनले पटक पटक गल्ती दोहोर्याएका छन् । सम्भवतः ओल्ड ट्राफोर्ड अब ह्यारीलाई पनि बिदा गर्नुपर्ने निष्कर्षमा पुग्न सक्छ । उनीबाट टिमको नेतृत्व र जितको कुरा सम्भव देखिदैन ।

अहिले युनाइटेड लक्ष्य बिना हिँडेको यात्री जस्तो देखिन्छ । जसलाई कता पुग्नु छ । कसरी पुग्नु छ । केही पनि थाहा छैन । केवल आफू जीवित छु भन्ने आशय दिन खेलिरहेको देखिन्छ । खेलाडीहरूमा पनि उर्जा र हामी एक जित्ने टोली हौँ भन्ने उत्साह छैन ।

रोनाल्डोलाई अर्को संकट विश्वमा नै आफूलाई गोल मेसिनका रुपमा स्थापित गरिसकेका क्रिस्टियानो रोनाल्डोको अहिलेको अवस्था भने युनाइटेडमा भने झन् संकटमा परेको छ । उनले सुरुवातै क्लब छाड्न चाहेका थिए ।

तर टिम व्यवस्थापक र प्रशिक्षकले उनलाई क्लब छाड्न दिएनन् । उनी क्लबमा हुँदा म्यान्यु माथिल्लो स्तरको प्रदर्शन गर्न सक्ने अनुमान थियो । तर अहिले त्यो भइरहेको छैन । उल्टै रोनाल्डोलाई संकट परिरहेको छ ।

रोनाल्डो उत्कृष्ट खेलाडी हुन् । यसमा दुईमत छैन । तर उनलाई भरपर्दो साथ दिन नसक्नु त्यो युनाइटेडको गल्ती हो । रियल म्याड्रिडमा हुँदा रोनाल्डोका लागि करिम बेन्जेमा एक विश्वासिलो पात्र बनेका थिए । त्यसमाथि ग्यारेथ बेल आएपछि रोनाल्डोले टिमलाई उपाधि दिलाउन थालेका थिए । तर अहिले उनको खस्किँदो उमेरमा त्यो सम्भव देखिदैन ।

टिमको यही अवस्थाले रोनाल्डोले क्लब छोड्ने आशय बनाउनु पनि स्वभाविक नै हो । यस्तो बेला रोनाल्डो टोलीबाट निस्किन्छु भन्दा पनि क्लबले उनलाई रिलिज नगर्नु अर्को समस्या देखिन्छ ।

अब रोनाल्डोसहितको टिमलाई व्यवस्थापन गर्न प्रशिक्षक ह्यागलाई असम्भव जस्तै देखिन्छ । उनको नेतृत्वमा टिमका खेलाडीले जित्ने आशा पनि राख्न छाडेका छन् । यस्तो अवस्थामा युनाइटेड व्यवस्थापक अब आफैँ अगाडि सरेर निर्णय गर्नुपर्ने हुन सक्छ ।

जसका कि तत्काल टिमका खेलाडीको कमजोरी सुधारेर प्रदर्शन राम्रो गर्नुपर्छ । होइन भने प्रशिक्षक ह्यागको बर्खास्ती । तर यसका लागि कम्तीमा अबका दुई खेल महत्वपूर्ण हुनेछन् । त्यो रोनाल्डो र प्रशिक्षक ह्याग दुवैका लागि उत्तिकै महत्वपूर्ण छ ।