बलिउड/हलिउड

लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट

By खबरहब

August 15, 2022

मुम्बई- आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन ।

आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भने यो फिल्मको भारतमा जति विरोध भइरहेको छ, विदेशमा भने फिल्मले उति नै प्रशंसा पाइरहेको छ ।

फिल्मले भारतमा मन्द व्यापार गरिरहे पनि यसले बिस्तारै पिकअप लिनेमा फिल्मकर्मी आशावादी छन् । सुरुवाती दिनको तुलनामा पछिल्लो समयमा फिल्मको व्यापारिक आँकडा बढ्दै गएको छ । फिल्मले भारतमा पहिलो दिनमा ११ करोड ७० लाख, दोस्रो दिन सात करोड २६ लाख र तेस्रो दिन नौ करोडको व्यापार गरेको थियो ।

फिल्मले ओभरसिजमा पहिलो दिन ८ दशमलव २० करोड, दोस्रो दिन १३ दशमलव ४० करोड, तेस्रो दिन ९ दशमलव ४० करोड र चौथो दिन १३ दशमलव २५ करोडको कमाइ गरेको थियो । यो आँकडाअनुसार फिल्मले विदेशमा करिब ४३ दशमलव २५ करोडको व्यापार गरिसकेको छ ।