राजनीति

‘गठबन्धन निरन्तर रहेर शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने छ’

By खबरहब

November 15, 2022

सुर्खेत– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धनले पाउनुपर्ने बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक-वाम गठबन्धन निर्माण भएको बताउँदै उनले गठबन्धन दीर्घकालसम्म रहने बताए ।

सुर्खेतको मेहलकुनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने बताए ।

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धनलाई पाँच पाण्डवको गठबन्धन भएको बताएका छन् । उनले पाँच ‘पाण्डव’विरुद्ध ‘कौरव’हरूको समूह देखा परेकाले एकढिक्का भएर अगाडि बढ्न सुझाव दिए । 

उनले गठबन्धनले संविधानको रक्षा गर्दै कोरोना नियन्त्रण, संविधानको मर्म र भावनाअनुसार स्थानीय तहको निर्वाचन सम्पन्न सफल भएको बताए । दाहालले निर्वाचनमार्फत अहिलेको गठबन्धनलाई अझै बलियो बनाउँदै लगिने बताए ।