फाइल फोटो

समाचार

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

By खबरहब

December 15, 2022

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । निकुञ्जका अनुसार मङ्सिर २८ गते बुधबार र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेका हुन् । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ५ः५५ बजे राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोस्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको छ । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उनले बताए । गैँडाको खाग, खुर सुरक्षित रहेको उनले जानकारी दिए । 

यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको केटो (भाले गैँडा) मृतावस्थामा भेटिएको छ । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको उनले जानकारी दिए । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । सो केटाको खाग नपलाएको र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । 

योसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आव २०७९/८० मा पाँचवटा गैँडा मरेका छन् ।