विचार

प्रचण्डले नबुझेका एलन मस्क र कम्युनिष्टहरुको बौद्धिक दरिद्रता

By कुसुम भट्टराई

January 16, 2022

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा विश्वका १० धनी व्यक्तिको सूची प्रस्तुत गरेका छन् ।

विश्वमा धनी र गरीबबीचको खाडल बढ्दै गएको दावी गर्ने क्रममा उनले एलन मस्क, मार्क जुगरबर्गदेखि बिल गेट्ससम्मको नाम उल्लेख गरेका छन् ।

हुन त नेपालका धनी राजनीतिक नेताहरुको सूचीमा दाहालको नाम पनि अग्रणी स्थानमै छ भन्ने चर्चा नभएको होइन ।

दश वर्ष लामो हिंसात्मक द्वन्द्वका क्रममा जर्बजस्ती चन्दा र बैंक रोवरीबाट संकलित रकमदेखि लडाकुको रासन घोटाला र एनसेल कर मिनाहासम्मबाट उठेको अकुत सम्पत्ति दाहालसँगै छ भनिन्छ ।

यो लेखमा दाहालको सम्पत्तिको जोखना गर्न खोजिएको होइन, अपितु उनले विश्वका धनीहरुको सूची उल्लेख गरेर जसरी उनीहरुलाई नकारात्मक हिसाबले प्रस्तुत गर्न खोजे, त्यसबारे केही चर्चा गर्न खोजिएको हो ।

कम्युनिष्टहरुमा जन्मजात सोच हुन्छ, धनी भन्नासाथ ‘खराबै हुन्छन्’ भन्ने । गरीबका शत्रु या शोषक भनेका धनीहरु हुन् भन्ने जडशुत्रवादी र दरिद्र चिन्तन दाहाल लगायतका कम्युनिष्टहरुमा अझै हावी हुनु उदेकलाग्दो कुरा हो ।

दाहालले दावी गर्न खोजे झैं उनले उल्लेख गरेका १० धनीमध्ये अधिकांश गरीबको शोषण, कालोबजारी, विचौलिया दलालीबाट धनी भएका किमार्थ हैनन् । बरु उनीहरु विश्वमा नयाँ सोच, आविष्कार र मेहनतको बलमा त्यो स्थानमा पुगेका हुन् ।

सरकारी लगानीमा सञ्चालित नासाका एक से एक दिग्गज वैज्ञानिकले गर्न नसकेको काम स्वअध्ययनका भरमा एउटा निजी कम्पनीका महत्वाकांक्षी व्यक्ति एलनले गरेर देखाइदिए । अनि त नासाले पनि उनको कम्पनीसँग डेढ बिलियन डलरको सम्झौता गर्‍यो । अचेल उनी नासाका अन्तरीक्ष उपकरण, उपग्रह र कार्गो पृथ्वीको कक्षसम्म आपूर्ति गर्ने गर्छन् ।

एलन मस्ककै कुरा गरौं । औपचारिक शिक्षा खासै नलिएका एलनले १२ वर्षकै उमेरमा पुस्तकहरुको स्वअध्ययनबाट कम्प्युटरका बारेमा बुझे र एउटा नयाँ गेम प्रोग्राम बनाएर कुनै अनलाइनलाई ५ सय डलरमा बेचेका थिए ।

त्यो दिनदेखि कमाउन थालेका उनको सम्पत्ति अहिले ३०० खर्ब डलर नाघिसकेको छ, यत्रो सम्पत्ति हुने उनी विश्व इतिहासकै पहिलो व्यक्ति बनेका छन् । यो स्थानसम्म पुग्न उनले गरेको मेहनत र प्रतिभाको विश्वभर प्रशंसा भइरहेको छ ।

एलनले सौर्य शहर बनाएका छन्, जसबाट सौर्य उर्जा उत्पादन हुन्छ । टेस्ला मोटर बनाइरहेका छन्, जसका लागि पेट्रोलियम इन्धन आवश्यक पर्दैन ।

आध्यात्मिक गुरु डा. योगी विकाशानन्द भन्छन्, ‘एलन मस्कले गरेको विद्युतीय गाडीको विकासले विश्वमा पेट्रोलियम इन्धनबाट हुने प्रदुषण र ग्लोबल वार्मिङ कम हुने आशा पलाएको छ, यो उनको पृथ्वीलाई महान् देन हो ।’

आश्चर्य के भने, रकेट विज्ञानबारे कुनै औपचारिक शिक्षा नलिएका एलनले रकेटसम्बन्धी धेरै पुस्तकहरुको अध्ययन गरेर अहिले आफूलाई विश्वकै अग्रणी रकेट वैज्ञानिकका रुपमा स्थापित गरेका छन् ।

मोटिभेसनल प्रवचनकर्ता डा. विवेक बिन्द्रा आफ्नो युटयुब प्रवचनमा भन्छन्, ‘सानैदेखि किताबका किरा एलनले किताब पढी पढी आफूमा गहिरो दृष्टि, उदात्त जोश र दृढताको विकास गरेका हुन्, जसबाट पृथ्वीलाई बदल्न सकियोस् ।’

एलन मस्क बारम्बार भन्ने गर्छन्, ‘मलाई त्यो काम गर्नु छैन, जुन सहजै गर्न सकिन्छ, बरु मलाई त त्यो काम गर्नु छ, जुन गर्न आवश्यक छ ।’

यही मान्यता बोकेका एलनले आफ्नो जिवनमा अरुका दृष्टिमा असम्भव र दुस्साहसपूर्ण लाग्ने काम गर्दै आए ।

आफ्नो वृत्तिमा (करिअर) ‘जीप टु’, ‘एक्स डटकम’, ‘पे पल’, ‘स्पेश एक्स’, ‘टेस्ला’, ‘सोलार सिटी’, ‘हाइपर लुप’, ‘ओपन आर्टिफिसियल इन्टलिजेन्स’, ‘न्यूरालिन्क’ र ‘द बोर्डिङ कम्पनी’सम्म आइपुग्दा बारम्बार असफलताबाट हरेस नखाई यिनले सफलता चुमेको पाइन्छ । उनको मान्यता नै छ, ‘समस्या आफैमा समस्या हैन, बरु समस्याको समाधान खोज्नु चाहिँ समस्या हो ।’

अब उनी मंगल ग्रहमा मानिस पठाउने जटिल मिसनमा जुटिसकेका छन् । मंगल ग्रहमा रुख बिरुवा उमार्ने र त्यहाँ मानव बस्ती बसाउने उनको पछिल्लो सपना हो । त्यसका लागि उनले पुर्नप्रयोग गर्न सकिने रकेटसमेत बनाइसकेका छन् ।

यो रकेट बनाउने क्रममा एलनले बारम्बार असफलता नभोगेका हैनन् । अरबौं रकम घाटासमेत सहे । पहिलोपटक प्रक्षेपित पुर्नप्रयोग रकेट आकाशमै विष्फोट भयो ।

दोश्रो र तेश्रोपटक उनले डिजाइन गरेको यस खालको रकेट अन्तरीक्षमा त पुग्यो, तर पृथ्वीमा फर्कन नपाई अफरुट ( दिशाहीन) भयो । ‘पे पल’बाट अलग हुँदा प्राप्त गरेको सम्पूर्ण रकम ‘स्पेश एक्स’को यो असफल मिसनका कारण स्वाहा भयो ।

सबैले भन्न थाले, ‘यो बेवकुफ हो, मूर्ख हो, यसले हुनै नसक्ने काममा हात हालिरहेको छ ।’ कहाँसम्म भने अमेरिकी अन्तरीक्ष एजेन्सी नासासँगको सम्झौतासमेत रद्द भयो, लगानीकर्ताहरुले पनि उनको कम्पनीमा लगानी गर्न छाडे ।

गहिरो दृष्टि, उदात्त जोश र दृढता बोकेका एलन मस्क न परे, हिम्मत हारेनन् । भनिरहे, ‘एकपटक फेरि कोशिश गर्छु ।’

धनीहरु कसरी धनी भए भन्ने अध्ययन नै नगरी बस धनी भएकै आधारमा विरोध गर्ने हाम्रा नेताहरुले आजको युगको वैचारिक प्रतिनिधित्व गर्न सक्दैनन् ।

पैसा त चाहियो । आफ्नो घर बेचेर भाडामा बस्न थाले । अनि केही ऋण लिएर पुर्नप्रयोग रकेट प्रक्षेपणको अन्तिम तयारी गरे । चौथोपटक उनले प्रक्षेपण गरेको रकेट अन्तरीक्षमा पुग्यो, पृथ्वीको कक्षलाई चुम्यो र सुरक्षित पृथ्वीमा फर्कियो ।

रकेट विज्ञानमा मानवले हासिल गरेको यो सवैभन्दा गर्वलायक घटना हो । सरकारी लगानीमा सञ्चालित नासाका एक से एक दिग्गज वैज्ञानिकले गर्न नसकेको काम स्वअध्ययनका भरमा एउटा निजी कम्पनीका महत्वाकांक्षी व्यक्ति एलनले गरेर देखाइदिए । अनि त नासाले पनि उनको कम्पनीसँग डेढ बिलियन डलरको सम्झौता गर्‍यो ।

अचेल उनी नासाका अन्तरीक्ष उपकरण, उपग्रह र कार्गो पृथ्वीको कक्षसम्म आपूर्ति गर्ने गर्छन् ।

पाठकवृन्द अब भन्नुस्, के एलन मस्क कुनै दलाल पूँजीपति हो ? के उनी शोषक हुन् ? असफलताबाट सारा सम्पत्ति स्वाहा भइसकेपछि सामान्य मानिस हुन्थ्यो भने या त आत्महत्या गर्थ्यो, या अवसादको शिकार हुन्थ्यो । तर, एलन मस्कले घर बेचेर अनि ऋणको जोखिम मोलेर चौथोपटक जुन सफलता हासिल गरे, यो विश्वका सम्पूर्ण युवाका लागि प्रेरक हैन र ?

माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो दस्तावेजमा बरु लेख्नुपर्थ्यो, ‘हे नेपाली युवा हो, तिमीहरु एलन मस्कजस्तै हुनुपर्छ । धेरै पढनुपर्छ, मेहनत गर्नुपर्छ र आफ्नो क्षेत्रमा सफलता हासिल गर्नुपर्छ ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमा बरु दूरदर्शीता र आधुनिक युवाको चेतना छाम्ने गुण पाइयो । सन् २०१५ मै अमेरिका भ्रमणका क्रममा मोदीले टेस्ला मोटर कम्पनीको भ्रमण गरेका थिए र एलन मस्कसँग भेटेका थिए ।

मोदीलाई थाहा थियो, एलन मस्क भारतका युवापुस्ताका लागि प्रेरक हुन् । भारतको युवापुस्ता एलनको फ्यान भएको छ । प्रेरक अनि महान् व्यक्तिलाई भेटेर एकातिर मोदी आफ्नो देशमा विद्युतीय मोटर उत्पादनको खाका कोरिरहेका छन्, यता हाम्रा नेता चाहिँ एलनलाई पूँजीवादी अनि ‘खराब धनी’को उपमा दिइरहेका छन् । त्यो पनि बडो ‘नयाँ विचार’ भनिएको दस्तावेजमा ।

मेटा कम्पनीका मार्क जुकरबर्गदेखि माइक्रोसफ्टका बिल गेट्ससम्मका धनीहरू गरीबको शोषण गरेर हैन, बरु विश्व प्रविधिमा नयाँ नयाँ आयामको आविष्कार गरेर धनी भएका हुन् । चाहे टेस्ला होस्, चाहे फेसबुक या कम्प्युटर क्रान्ति ल्याउने माइक्रोसफ्ट नै किन नहोस्, प्रविधिका यिनै आयामका कारण विश्व मानव सभ्यताको स्वरुप नै बदलिएको छ ।

हामीले देखेकै हो, परदेश गएको लाहुरेहरु कुनै बेला अल इन्डिया रेडियोमा ‘नमस्कार, म गोर्खा रेजिमेन्टको सिपाही फलानो, दशैंमा घर आउँछु, सन्चै छु’ भन्दै सन्देश दिन्थे । अचेल, गाउँमा रहेका आमा बाहरु स्मार्टफोनमा सोझै विश्वको जुनसुकै कुनामा भएका आफ्ना सन्तानसँग कुनै पनि बेला अनुहार हेरेर बात मार्न सक्छन् । विश्व अब गाउँ हैन, टोलमा परिणत भएको छ र यसका लागि यिनै महान् प्रतिभाहरुको योगदान छ ।

अल्ट्रा पोस्ट मोर्डन सभ्यतातिर विकसित भइरहेको नेपाली युवाको मानसिकता छाम्न नसक्नु दाहाल लगायतका हाम्रा नेताहरुको कमजोरी हो । अझ कम्युनिष्ट नेताहरु त, विश्वमा असफल भइसकेका पुराना शास्त्रीय जार्गन मात्र दोहोर्‍याउँछन् ।

कुनै दस्तावेज लेख्नुपर्दा सुलसुलेले खाइसकेका मार्क्स, लेनिन र माओका उनी थोत्रा ठेली पल्टाउँछन् । अनि आजको युवा पुस्तालाई उत्तेजित र आवेगी बनाउने मुर्खता गर्छन् । जबकि, आजको पुस्ता अब पुरानै जार्गनबाट आवेगी हुनेवाला छैनन् भन्ने तिनलाई थाहै छैन ।

विश्वको बदलिँदो परिवेश, विज्ञान प्रविधिको विकास, त्यसले नयाँ पुस्ताको सोचमा ल्याएको परिवर्तनबारे पुराना नेतालाई गहिरो ज्ञान नै छैन । न त तिनका वरिपरि अध्ययनशील मानिसहरुको टिम नै छ ।

अनि न एलन मस्कजस्ता प्रेरक प्रतिभाको आलोचना गर्छन् । धनीहरु कसरी धनी भए भन्ने अध्ययन नै नगरी बस धनी भएकै आधारमा विरोध गर्ने हाम्रा नेताहरुले आजको युगको वैचारिक प्रतिनिधित्व गर्न सक्दैनन् ।