नारायणप्रसाद सिग्देल सुर्खेतको बड्डीचौरस्थित जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् । उनले आफ्नै विद्यालयमा सुरु गरेको ‘पढ्दै कमाउदै कार्यक्रम’ अहिले नेपाल सरकारले पनि देशका ३० जिल्लामा लागू गरेको छ । तर उनले आफ्नो स्कुलका विद्यार्थीलाई सिकाएको काम देशभरीकै विद्यालयका लागि नमूना र धेरै प्रशंसा गरिएको कामका रुपमा लिइएको छ ।
सरकार विद्यालयको पठनपाठन र गुणस्तर दैनिकजसो खस्किरहेको गुनासो बढेका बेला सिग्देलले भने सामुदायिक विद्यालयलाई नमूना र उत्कृष्ट बनाउन कुनै कसुर बाँकी राखेका छैनन् । उनको कामबाट विद्यालयले पाएको सफलता, नेपाल सरकारले सुरु गरेको कार्यक्रम र आगामी दिनमा सरकारी स्कुललाई नमुना बनाउन सहयोग पुग्ने अभियानबारे उनै प्रअ सिग्देलसँग खबरहबका लागि विपना थापाले गरेको कुराकानीको सम्पादित अशः
तपाईँको विद्यालय कहिले स्थापना भएको हो ?
हाम्रो विद्यालय २०२९ सालमा स्थापना भएको हो ।
विद्यालयमा आधुनिक प्रविधिको प्रयोग गरी व्यावसायिक शिक्षा तर्फ लैजान कुन कुराले प्रेरित गर्यो ?
हामीले पहिल्यै सुरु गरेपनि सरकारले यो कार्यक्रम बल्ल ग्रहण गरेर अरु विद्यालयमा पनि लागू गर्न खोजेको छ । विद्यार्थीहरूको पढेर श्रम खेर गइरहेको छ । पढिसकेपछि हातमा सीप नहुने भएकाले सीप सहितको शिक्षा दिनुपर्छ भनेर प्राविधिकतर्फ २०६८ सालदेखि सीटीईभीटीको पन्ध्र महिने कार्यक्रम सुरु गर्यौँ । त्यसपछि तीनवर्षे कृषि, त्यसपछि १८ महिने भेटेनरी, तीन वर्षे भेटनरी विषयको पठनपाठन सुरु गर्यौँ । कक्षा ११/१२ पढ्ने भाइ बहिनीको लागी पनि स्थानीय तहमा चाहिने स्रोत साधन प्रयोग गरेर विभिन्न सीपका कुरा सिकाइरहेका छौँ । गाउँघरमै भइरहेका खेतीपाती गर्ने, चुरापोते बनाउने, डोकोडालो बुन्ने कुराहरू हामीले स्कुलमा सिकाएका हौँ ।
आधुनिक प्रविधियुक्त सीप सिकाउनु पर्छ भन्ने सोच कहाँबाट कसरी आयो ?
हाम्रो बजारमा धेरै वस्तुहरू बाहिरबाट आयात हुन्छन् । खाद्यान्नदेखि श्रमिक सबै बाहिरबाट नै आयात भइरहेका छन् । नेपाली युवाहरू कामका लागि बाहिर जानुपर्ने बाध्यता छ । अनि युवाहरू बाहिर जाँदा गाउँघरका खेतबारी बाँझो रहने समस्या झन् बढ्यो । श्रमबजार र वस्तु बजारमा बाहिरबाट आयात गरिएका सामान बिक्री भइरहेका छन् । सीप नहुँदा हाम्रो जनशक्ति पलायन भइरहेको छ । अब नेपालमै गाउँघरमै भएको जनशक्तिलाई सीप दिएर आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्नुपर्छ भनेर धेरै सोचेपछि यो कार्यक्रम स्कुलमै लागु गर्ने प्रयास गरेको थिएँ । यो सोचले विद्यार्थीहरूमा राम्रो प्रभाव पारेपछि मलाई थप हौसला मिल्यो र सबै विद्यार्थीमा लागू गर्दा आजको नतिजा आएको हो ।
पढाउने र प्राविधिक रुपमा सीपयुक्त बनाउने कामलाई सँगसँगै कसरी अघि बढाउँदै हुनुहुन्छ ?
अहिले स्कुलमा माछा पोखरी, मौरी, बाख्रा, बगुंर पाल्ने खोर बनाइदिएका छौँ । स्कुलले भाइबहिनीहलाई ऋण प्रवाह गर्छ । साथै अर्थमन्त्रीले हाम्रो विद्यालय भिजिट गर्नु भएको छ । अर्थमन्त्री मात्रै होइन, मुख्यमन्त्री, मन्त्री, सचिव लगायत धेरै व्यक्तित्व र सरोकारवालाले हाम्रो विद्यालय अध्ययन भ्रमण गरेर धेरै कुरा बुझ्दै अरुलाई पनि प्रोत्साहन गर्नु भएको छ । हामीले गरेको क्रियाकलाप देखेर खुसी हुदै उहाँहरूले बजेटमा नै ‘पढ्दै कमाउँदै कार्यक्रम’ समावेश गर्नुभयो । १४ करोडको बजेट छुट्टाएर अहिले ३०वटा स्कुललाई छनौट गरेर अगाडि लैजाने भनेर सरकारले आवेदन नै आह्वान गरेर काम अघि बढाइसकेको छ । अहिले पाँच सयको हाराहारीमा विभिन्न विद्यालयले प्रस्ताव पत्र पेस गरेका छन् । त्यससँगैअहिले शिक्षकहरूमा विद्यार्थीलाई पढाईसँगै सीप सिकाउनुपर्छ भन्ने सोच विचार पनि बढेको छ । यसले दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोक्न सकिन्छ भन्ने आशा राखेका छौँ ।
यो कार्यक्रम अरु जिल्ला र विद्यालयमा कसरी विस्तार भइरहेको छ ?
नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम सीटीभीटी अन्र्तगत, शिक्षा विभाग अन्र्तगतका प्राविधिक विद्यालयमा सन्चालन भइरहेको छ । जब हाम्रो जनशक्ति बजारमा श्रम गरेको र बस्तुहरू बजारमा उपलब्ध हुन्छन् तब मात्र हामीले गरेको काम सफल भएको मान्न सकिन्छ ।हाम्रै जनज्योती माध्यमिक विद्यालयमा आएर भिजिट गरिसकेपछि आफनो स्कुलमा गएर धेरै जनाले पढाईसँगै सीप सिकाउनु सुरु गर्नु भएको छ ।
यो अभियान कसरी सरकारले आत्मसाथ गरेर अघि बढायो ?
सानै उमेरबाट सीप सिक्दै गयो भने पछि गएर बल्ल उद्यमी व्यवसायी बन्न सकिन्छ भनेर सरकारले बुझ्यो । अनि बजेट छुट्यायो । त्यो पनि ठूलो मात्रामा १४ करोड बजेट नै छुट्याएपछि साच्चिकै सरकारले केही गर्न खोजेको महसुस भयो । अहिले ३० वटा विद्यालय छन् । विस्तारै अरु विद्यालय थप्ने र बजेट बढाउने भन्ने विषयमा राम्रै छलफल भइरहेको छ । यो कार्यक्रमले राम्रो प्रभाव पार्यो, उत्पादन बढ्यो, श्रमप्रतिलगाव देखियो भने सरकारले यो कार्यक्रमलाई थप अगाडि बढाएर देशव्यापी अभियानकै क्रममा लैजान सक्छ । मैले यसलाई आशावादी रुपमा लिएको छुँ ।
अब यो कार्यक्रमले अहिले छनौट भएका ३० विद्यालयमा के–कस्तो काम गर्छ ?
विद्यालय तथा प्राविधिक विद्यालयमा कृषि, इन्जिनियरिङ पढाई भए त्यहि अनुसारको सोच पनि विकास हुन्छ । हाम्रो विद्यालयमा बाख्रा, कुखुरा, बगुंरको खोर छन् । चुरापोतेको सानो उद्योग सुरु गरेका छौँ ।हामीले विद्यालय वरिपरिका पसलहरूमा भएका बस्तुहरू कँहाबाट आएका छन् ? ती वस्तुहरू अब हामी आफैले मिलेर उत्पादन गर्न सक्छौँ भनेर सुरु गरेर यी कुरालाइ विस्थापित गर्नु पर्छ भनेर अघि बढेका हौँ । साना साना कुरा पनि विदेशबाट आयात हुने भएकाले यही उत्पादन बढाउदा श्रम र वस्तुको सदुपयोग गर्न सकिन्छ ।
अनि पढ्दै कमाउँदै कार्यक्रम पनि साच्चिकै सफल हुनेछ । जसरी मैले विदेशमा यस्ता कार्यक्रम भइरहेको देखेँ । अनि नेपालमा पनि यसको प्रयोग गरे राम्रो हुन्छ भनेर सुरु गरेको हुँ ।अझै हामी विभिन्न ठाउँमा भएका हजुरवुबा हजुरआमालाई कक्षा कोठामा ल्याएर सीप सिकाउन सकियो भने उनीहरूले सिकाईको भाव बुझ्ने हुँदा यस्तो योजना बनाएका हौँ । थप बनाउँदै जानेछौँ ।
यो कार्यक्रम लागू भएपछि विद्यार्थीलाई प्रत्यक्ष रुपमा कस्तो फाइदा पुगेको छ ?
सामान्यतया हाम्रो संस्कार र प्रवृत्ति विद्यार्थीलाई ‘पढ है पढ, पढिनस हलो जोत्लास्’ भन्ने चलन छ । एक किसीमले कृषिलाई हेपाईको पेशाका रुपमा लिइन्छ । पढेपनि काम त गर्नुपर्यो नि होइन र ? सीप नभए त श्रम गर्न सकिदैन। आफ्नै सीपले उत्पादन गर्दा र बिक्री गर्दा गर्दा त सबैलाइ खुशी नै मिल्छ । त्यसैले यो कार्यक्रमप्रति विद्यार्थी असाध्यै खुशी छन् । उनीहरू यो कुरा सिकेर थप राम्रो गरिरहेका छन् । अनि बाहिरबाट हेर्न आउनेले त झन् कस्तो नयाँ कुरा हेर्न र सिक्न पाइयो भन्दै उत्साहित हुने गरेका छन् ।
यो कार्यक्रमलाई अबका दिनमा विस्तार गर्ने सोच कस्तो बनाउनु भएको छ ?
अहिले यो कार्यक्रम आफ्नो विद्यालयमा पनि लागू गराउन पाँच सयभन्दा बढी निवेदन परेका छन् । तर २५ देखी २८ वटा विद्यालयलाई मात्र पैँसा दिने कुरा छ। अब शिक्षकहरू नै हामी गर्छौ भनेर लागीपरेपछि सम्बोधन गर्नुपर्ने हुन्छ । सानो कामबाटै हामी अगाडी बढ्नुपर्छ । इच्छाशक्ति भएकालाई सीप सिकाएर नमूना बनाउँदै अरुलाई प्रोत्साहन हुने गरि यो कार्यक्रम अगाडी बढाउने सोचमा छौँ । विद्यार्थीको क्षमता पहिचान गरेर त्यही अनुसारको शैक्षिक साम्रागीसहित सीप सिकाँउदै जानेछौँ । एक दुई वटा स्कुल कलेजले मात्र होइन, देशभरका विद्यालयमा यस्ता कार्यक्रम लागू गर्नुपर्छ ।