तस्वीर- युक्रेनी राष्ट्रपतिको कार्यालय

अन्तर्राष्ट्रिय

शान्तिवार्ता यथार्थपरक दिशामा – जेलेन्स्की

By खबरहब

March 16, 2022

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको वार्ता ‘यथार्थपरक दिशा’ तर्फ अघि बढिरहेको जनाएका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले यद्यपि थप केही समय लाग्ने बताएका छन् ।

‘वार्ताहरु भइरहेका छन् र छलफल यथार्थपरक हुँदै गएको मलाई जानकारी गराइएको छ । तर युक्रेनको हितमा निर्णय लिन अझै केही समय लाग्न सक्छ ।’ उनले भने ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रुसी वार्ताकारहरूले आफ्नो प्रस्तावलाई अझ लचिलो बनाउँदै लगेको समाचार आएको थियो ।

यसैबीच युक्रेनका प्रमुख वार्ताकारले अबको एक वा दुई सातामा रुससँग शान्ति सम्झौता हुनसक्ने बताएका छन् । युक्रेनी वार्ता टोलीका सदस्य एवम् जेलेन्स्कीका निकटस्थ ओलेक्सेई एरेस्तोभिचले युक्रेनमा आक्रमण गर्ने रुसी फौजको श्रोत र साधन सकिँदै गएको खण्डमा एक वा दुई साताको अवधिमा शान्ति सम्झौता हुनसक्ने बताएका हुन् ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने बताएका थिए । विश्लेषकहरूले भने यसलाई युक्रेन नेटोको सदस्य मुलुक हुन नहुने प्रस्तावप्रति जेलेन्स्कीले लचकता देखाएको अर्थमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।