तस्वीर- केसीएनए

अन्तर्राष्ट्रिय

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण असफल – दक्षिण कोरिया

By खबरहब

March 16, 2022

काठमाडौं- उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले जनाएको छ । राजधानी प्योङ्याङ नजिकैबाट प्रक्षेपण गरिएको संदिग्ध क्षेप्यास्त्र परीक्षण असफल भएको दक्षिण कोरियाले सेनाले जनाएको हो ।

‘उत्तर कोरियाले सुनान क्षेत्रबाट करिब साढे ९ बजे अज्ञात क्षेप्यास्त्र प्रहार गर्यो तर उडानलगत्तै यो असफल हुन पुग्यो ।’ दक्षिण कोरियाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्षेप्यास्त्र परीक्षण गरिएको ठाउँमा स्थानीयहरुले ठूलो विमानले उडान भरे जस्तो आवाज सुनेको र एकैछिनमा ठूलो आवाजमा केही विस्फोट भएजस्तो आवाज आएको स्थानहरूलाई उद्धृत गर्दै उत्तर कोरियाको समाचार दिने वेबसाइट एनके न्युजले जनाएको छ ।

उत्तर कोरियाले हालसम्म ९ पटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । केही दिनअघिमात्रै अमेरिकी अधिकारीले उत्तर कोरियाले लामो दूरीसम्म मार हान्न सक्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीका केही हिस्सा परीक्षण गरेको जनाएका थिए ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक परीक्षणको निन्दा गर्दै लामो समयदेखि नाकाबन्दी र प्रतिबन्धहरू लगाउँदै आएको छ ।