तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

रुसी फौजद्वारा मारिउपोलको अस्पताल कब्जा, ४ सय बन्धक

By खबरहब

March 16, 2022

काठमाडौं– रुसी फौजले युक्रेनको दक्षिणपूर्वी शहर मारिउपोलमा अस्पताल कब्जा गरी ४ सय जनाभन्दा धेरैलाई बन्धक बनाएको स्थानीय नेताले बताएका छन् । मारिउपोलका क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै रुसी फौजले अस्पताललाई चारैतिरबाट कब्जा गरेको बताएका हुन् ।

उनले अस्पतालभित्र ४ सय जनालाई बन्धक बनाएर राखेको र बाहिर निस्कन खोज्नेमाथि गोली प्रहार गरेको समेत बताए । अस्पतालभित्र एक सयजना भन्दा धेरै चिकित्सक र बिरामी फसेको भन्दै उनले रुसी फौजले बन्धकलाई मानव ढालको रुपमा प्रयोग गरिरहेको आरोप लगाए ।

उनले युद्धको नियम र नीतिको विरुद्धमा गई रुसी फौजले गरेका यस्ता गतिविधिको प्रतिकार गर्न समेत विश्वलाई आग्रह गरे ।

रुसी फौजको घेराबन्दीमा परेको मारिउपोल शरमा यसअघि पनि रुसी फौजले बाल अस्पतालमा आक्रमण गरेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यस्तो गतिविधिलाई युद्ध अपराध र नरसंहारको संज्ञा दिएका थिए ।