प्रतिकात्मक तस्वीर

क्रिकेट

आईसीसी क्रिकेट डिभिजन–२ः पीएनजीबाट नेपाललाई २०५ रनको लक्ष्य

By खबरहब

March 16, 2022

यूएई– आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २ सय ४ रनको योगफल खडा गरेको हो ।

पीएनजीका चाल्र्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडे ।

नेपालका सोमपाल कामीले तीन विकेट लिएका छन् । त्यस्तै, कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई–दुइ विकेट लिए ।

शृंखलाको दोस्रो खेल नेपालले १८ मार्चमा यूएईविरुद्ध खेल्नेछ । त्यस्तै, तेस्रो खेल २१ मार्चमा यूएईविरुद्ध नै हुनेछ र अन्तिम खेल २२ मार्चमा पीएजनीविरुद्ध खेल्ने छ ।

नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ । १३ खेल खेलेको पपुवा न्युगिनीले भने अंक खाता खोल्न सकेको छैन ।

त्यस्तै, यूएई भने १५ खेलमा १८ अङ्कसहित दोस्रो स्थानमा भने ओमान २८ खेलमा ३६ अङ्कका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा १६ अंक जोड्दै तेस्रो स्थानमा छ भने नामिबिया र अमेरिका समान १४ अङ्कसहित चौथो र पाँचौँ स्थानमा छ ।