काठमाडौं- ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड–२०७८’ को लागि नबिल बैंकले सहप्रायोजन गर्ने भएको छ ।
आज आयोजित एक कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सम्झौता गरेका हुन् ।
सम्झौतापत्रमा नेपाल खेलकुद मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रमुख मनोहर कँडेलले हस्ताक्षर गरेका थिए ।
१८ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड आउँदो ८ चैतमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । सहप्रायोजक बनेबापत नबिलले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रुपमा आर्थिक सहयोग गर्नेछ ।
सम्झौता कार्यक्रममा नबिलका प्रमुख कँडेलले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न आफू पछि नपर्ने बताए ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले चर्चित संस्था नबिललाई अवार्डको सहयोगीको रुपमा पाउनु खुशीको क्षण भएको बताए । सुवेदीले सहप्रायोजन गरेकोमा प्रमुख कँडेल प्रति धन्यवाद व्यक्त गरेका थिए ।
स्पोर्ट्स अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
मनोनयनमा सन्तोषी श्रेष्ठ एथलेटिक्स, एन्जिला तुम्बापो सुब्बा फुटबल, एलिना महर्जन टेबलटेनिस, र कुशल भुर्तेल (क्रिकेट) र प्रिन्स दाहाल (ब्याडमिन्टन) रहेका छन् ।
अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछ ।