तसवीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक असफल

By खबरहब

March 16, 2022

काठमाडौं– पाकिस्तानमा गिल्गिट बाल्टिस्तानलाई प्रान्तीय मान्यता दिने विधेयक त्यहाँको माथिल्लो सदन सिनेटमा असफल भएको छ । बलोचिस्तान अवामी लिग पार्टीका चार सिनेटरले ल्याएको उक्त प्रस्ताव असफल भएको हो ।

गिल्गिट बाल्टिस्तानको विधानसभाका १२ सदस्य, पाकिस्तान तहरिक ए इन्साफ, मजलिस वहदतुल मुस्लिमिन, पाकिस्तान मुस्लिम लिग नवाज र जमियत उलेमा ए इस्लामले यो विधेयकको विरोध गर्दै यसका विरुद्ध मतदान गर्ने जनाएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

स्थानीय जनतासँग सल्लाह नै नगरी ल्याइएको हुनाले यसको विरोध गरिएको उनीहरुको भनाइ छ । उनीहरुले गिल्गिट बाल्टिस्तानबाट चुनिएका प्रतिनिधिबाहेक अरुबाट आउने यस्तो प्रस्ताव अस्वीकार्य रहेको बताएका छन् ।

त्यसबाहेक गिल्गिट बाल्टिस्तानका विधायकहरुले यो विधेयक फिर्ता नभएसम्म काम मै नफर्किने समेत चेतावनी दिएको डनले जनाएको छ ।