बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ ।
आज सम्पन्न फाइनल खेलमा दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो ।
खलंगा गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु ७५ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता दशरथ चन्दले रु ५० हजार प्राप्त गर्यो ।
फाइनलमा खेलमा दशरथ चन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेलेका थिए । बलिङतर्फ दशरथ चन्दका सुमन रावलले ३ विकेट लिए ।
पहिला ब्याटिङ गरेको दशरथ चन्दले १६.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाएका थिए । बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३/३ विकेट लिएका थिए । खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए । उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुका साथै सात विकेटसमेत लिएका थिए । यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।