समाचार

गुणस्तरीय जीवनका लागि उपयुक्त शहरी विकास नीति आवश्यक: मन्त्री झाँक्री

By खबरहब

March 16, 2022

कास्की– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गुणस्तरीय जीवनका लागि उपयुक्त राष्ट्रिय शहरी विकास नीति आवश्यक रहेको बताएकी छन् ।

शहरी विकास मन्त्रालयद्वारा गण्डकी प्रदेशको राजधानी पोखरामा आज भएको कार्यशालामा मन्त्री झाँक्रीले शहरी नीति परिमार्जन गर्न मन्त्रालयले काम गरिरहेको बताइन् । कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले शहरी विकास नीतिले शहरी प्रणाली समुन्नत बनोस् भनेर नीति परिमार्जन र शहरी विकास ऐन ल्याउन लागिएको जानकारी दिए ।

गण्डकी प्रदेश नीति तथा योजनाका आयोगका सदस्य रघुराज काफ्लेले नेपालमा शहरीकरणको प्रक्रिया तीव्र बन्दै गएको बताए ।

उनले सरकारले परिमार्जन गर्ने शहरी नीति र ल्याउने ऐन आगामी दिनमा व्यवस्थित शहरीकरणका लागि महत्वपूर्ण हुने पनि बताए ।

कार्यशालामा सहभागी गण्डकी प्रदेशभित्रका विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले संघीयतासँगै तीनै तहका सरकारबीच समन्वयको अभाव देखिएको भन्दै यस्ता विषय शहरी नीतिमा ध्यान दिनुपर्ने बताए ।

कार्यशालामा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका विभिन्न जिल्लाका नगरप्रमुखहरू, उपप्रमुखहरूलगायतको उपस्थिति थियो ।

मन्त्रालयले देशभरका विभिन्न स्थानमा विकास निर्माणका काम गर्दा राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमासम्बन्धी कार्यशाला गर्दै आएको छ । मन्त्रालयले हालसम्म धनगढी, सुर्खेत, नेपालगन्ज, बुटवल र पोखरामा कार्यशाला सम्पन्न गरेको छ ।