राजनीति

परिवर्तनलाई संस्थागत गर्ने गठबन्धन जिताऔँ : ऊर्जा मन्त्री भुसाल 

By खबरहब

April 16, 2022

ललितपुर – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी निर्वाचन परिवर्तन संस्थागत गर्ने र परिवर्तनलाई पछाडि फर्काउने शक्तिबीचको लडाइँ भएको बताएकी छन्।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएकी हुन्।

जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशितालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको दाबी गरिन् ।

उनले भनिन्, ‘प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।’

जलविद्युतबाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उनले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिइएको पनि बताइन्।