काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार बिहान भएको फाइनल खेलमा रूपन्देहीले मलेसिया ११ लाई ७ विकेटले पराजित गरेको हो । रूपन्देहीको जितमा प्रज्ज्वल थापाले अर्धशतक प्रहार गरे ।
१ सय ४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा केबल ३ विकेट गुमाएर भेट्टायो । रूपन्देहीलाई जित दिलाउन प्रज्ज्वल थापा र सन्दीप रजालीले दोश्रो विकेटका लागि ११२ रनको साझेदारी गरे ।
१८ औँ ओभरको पहिलो बलमा मुहम्मद वफिकले आउट गर्नुअघि प्रज्ज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको योगदान गरेका थिए ।
त्यस्तै रुपन्देहीका लागि सन्दीप रजालीले ४१ रन, देव खनाल १२ रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
उसका लागि नजरिल रहमानले ३६ र जुबैदी जुल्किफले २६ रन जोडे । रूपन्देहीका लागि बसिर अहमदले २ तथा कृष्ण कार्की, रूपेश कुर्मी, बिक्रम भुसाल र विशाल बिक्रम केसीले १–१ विकेट लिए ।
प्रज्ज्वल थापा प्लेयर अफ द म्याच घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट भने बसिर अहमदले जिते ।
विजयी टोली रूपन्देहीले २ लाख ५० हजार रुपैयाँ जित्यो । उपविजेता मलेसियाले १ लाख रुपैयाँमा चित्त बुझायो । यो नेपालमा भएको क्लब क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कारराशी हो ।