तस्वीर- कोल्ड न्युज १३/मोहवे काउन्टी शेरिफको कार्यालय

अन्तर्राष्ट्रिय

१ सय ८३ जनावरलाई फ्रिजमा राख्ने अमेरिकी पक्राउ

By खबरहब

April 16, 2022

काठमाडौं- आफ्नो फ्रिजमा कुकुर, बिरालो, चराचुरुङ्गी लगायत १ सय ८३ जनावर राखेको आरोपमा अमेरिको एरिजोना राज्यमा एकजनालाई पक्राउ गरेको छ । ४३ वर्षीय माइकल प्याट्रिक टर्ल्यान्डले केही जनावरहरूलाई जीवितै फ्रिज गरेको स्वीकार गरेको मिसौरी राज्यको कान्सास सिटी शहरबाट प्रसारण हुने केएसएचबी ४१ च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

मोहावे काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार उनीमाथि ९४ वटा पशु क्रूरता गरेको आरोप लगाइएको छ । घटनास्थलका तस्वीरहरू ‘पूर्ण रूपमा घृणित र हृदयविदारक भएको’ शेरिफकी प्रवक्ता अनिटा मोर्टेनसेनले बताइन् ।

‘एक पशु प्रेमीका नाताले म तिनीहरूलाई हेरेर रोइरहेको थिएँ’ उनले  भनिन् । एक महिलाले दिएको सूचनाको आधारमा उनी पक्राउ परेको जनाइएको छ । अधिकारीहरूले टर्ल्यान्डकी श्रीमती ब्रुकलायन बेकको खोजी गरिरहेका छन् ।

ती महिलाले सर्पहरू प्रजनन गर्न टर्ल्यान्डलाई दिएकी थिइन् । तर, उनी केही महिनापछि बेपत्ता भएका थिए । टर्ल्यान्ड र उनकी श्रीमती घरबाट बाहिरिएपछि घरधनीले आफूलाई सम्पर्क गरेको महिलाले प्रहरीलाई बताएकी छिन् । 

उनले जनावरलाई फ्रिजमा राख्नुको उद्देश्य प्रष्ट नभएको बताइएको छ । जनावरलाई जिउँदै फ्रिजमा राखेर उनीहरूलाई यातना दिएको हुनसक्ने अनुमान गरिएको छ ।