खेलकुद

टी–ट्वान्टी सिरिजमा आज नेपाल र युगान्डा भिड्दै

By खबरहब

May 16, 2022

काठमाडौँ – नेपाल र युगान्डाको महिला क्रिकेट टोलीबीचको टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा दिउँसो १ बजे यी दुई टोली आमने सामने हुनेछन् ।

नेपाल र युगान्डाबीचको खेलमा दर्शकको सहभागिता बढाउन प्रवेश निःशुल्क गरिएको छ । साथै नेपाली महिला टोलीको प्रोत्साहनको लागि पारिश्रमिक पनि बढाइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

युगान्डाविरुद्धको सिरिज नेपाली टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ सागमा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो ।

कतारमा आयोजित पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा भने नेपालले क्लिन स्विप गरेको थियो । नेपाल र युगान्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो बिहीबार र चौथो शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।