फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानको पेशावर शहरमा गोली हानी दुई जनाको हत्या

By रासस

May 16, 2022

काठमाडौं- पाकिस्तानको पेशावर शहरमा गोली हानेर दुई जनाको हत्या गरिएको छ । पेशावर शहरमा दुई जना व्यापारीको हत्या गरिएको हो । स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका थिए ।

पेसावरको प्रहरीले दिएको जानकारीअनुसार आइतबार साँझ मोटर साइकलमा आएका दुई अज्ञात व्यक्तिले ती दुई जना व्यापारीको हत्या गरेर भागेका थिए ।

यस घटनाको कारण खुल्न नसकेको जनाइएको छ । पेशावर प्रहरीका प्रवक्ताले जनाएअनुसार अल्पसंख्यक जातीका ती व्यापारीलाई गोली हानिएपछि सो क्षेत्रका सबै पसलहरु बन्द गरिएको थियो ।

ती आक्रमणकारीहरुको खोजी कार्य जारी रहेको पेशावर प्रहरी कार्यालयले जनाएको छ । उक्त हत्याकाण्डपछि सो क्षेत्रका अल्पसंख्यक जातीका नागरिकले दोषीलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् ।