तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको भाउ बढ्यो

By खबरहब

May 16, 2022

काठमाडौं– युक्रेनमा रुसी आक्रमण जारी रहेको अवस्थामा भारतले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि अन्नको भाउ बढेको छ ।

भारतको घोषणासँगै शिकागोको गहुँ सूचकाङ्क झन्डै ६ प्रतिशतले बढेको बीबीसीले जनाएको छ ।

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै शिकागोको गहुँ सूचकाङ्क ५.९ प्रतिशतले बढेर दुई महिना यताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

विनाशकारी ताप लहर फैलिएपछि भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यद्यपि प्रतिबन्ध दीर्घकालीन नभएको र यो निर्णय फिर्ता लिन सकिने भारतीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि भारतको यो निर्णयलाई विश्वका ठूला ७ अर्थतन्त्रको समूह जी ७ का कृषि मन्त्रीहरुले निन्दा गरेका छन् । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक भएपनि भारतमा गहुँको उत्पादनको खपत स्थानीय बजारमा बढी हुने र भारतले कम मात्र गहुँको निर्यात गर्ने बताइन्छ ।

तर विश्वका ठूला गहुँ उत्पादक मुलुकहरु युक्रेन र रुस युद्धमा होमिएकाले व्यापारीहरुले बजारमा रुसी र युक्रेनी गहुँलाई भारतीय गहुँले प्रतिस्थापित गर्ने अपेक्षा गरेका थिए ।

यद्यपि भारतले समेत निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर गहुँ र खाद्यान्नको मूल्य बढ्ने चिन्ता उत्पन्न भएको छ । प्रतिबन्ध घोषणा गर्नुअघि भारतले यो वर्षमात्रै १ करोड टन गहुँ निर्यात गर्ने लक्ष्य राखेको थियो ।