काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो ।
युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन बनाउन सफल भयो । नेपालका लागि इन्दु बर्माले १६, डली भट्टले १३ रन र विन्दु रावलले १२ रन जोडिन् ।
टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले १–१ विकेट लिए ।
युगाण्डा विरुद्धको सिरिज नेपाली महिला क्रिकेट टोलीको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय खेल हो । यसअघि नेपालमा आयोजना भएको १३ औँ साग गेम्समा महिला टोलीले पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो ।
महिला क्रिकेट टोलीका लागि यो दोस्रो अन्तर्राष्ट्रिय टी–ट्वान्टी सिरिज हो । गत वर्ष कतार भ्रमणमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज भने नेपालले क्लिन स्विप गरेको थियो ।
नेपाल र युगाण्डाबीचको दोस्रो टी–ट्वान्टी खेल मंगलबार, तेस्रो खेल बिहीबार र चौथो खेल शुक्रबार हुनेछ । दुई देशबीचको पाँचौँ टी–ट्वान्टी खेल भने शनिबार हुनेछ ।