राजनीति

चितवनमा एकीकृत समाजवादीले खाता खोल्यो

By खबरहब

May 16, 2022

चितवन– चितवनका ९८ वटा वडामध्ये २८ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

चितवनमा नेकपा एकीकृत समाजवादीले विजयको पहिलो खाता खोलेको छ । माडी नगरपालिका–७ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट एकीकृत समाजवादीकी उमेदवारको विजय भएको हो ।

वडा अध्यक्ष जित्नेमा समाजवादीकी चन्द्र कुमारी बानियाँ पहिलो महिला बनेकी छन् । जिल्लामा हालसम्म सार्वजनिक भएका वडाहरूको विवरणमा कोही पनि महिलाले वडाध्यक्ष जितेका छैनन् । बानियाँले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद आचार्यलाई ३५ मतान्तरले पराजित गरेकी हुन् ।

बानियाँले ७९६ मत प्राप्त गर्दा आचार्यले ७६१ मत प्राप्त गरे । एमाले विभाजनपछि बानियाँ समाजवादीतिर लागेकी थिइन् । माडीका ९ वडामध्ये अहिलेसम्म पाँच वडाको मतपत्र गनेर सकिएको छ । अब ३, ४, ५, ८ को मतपत्र गन्न बाँकी छ ।

माडीको मेयरमा भने एमालेकी ताराकुमारी काजी महतोले निरन्तर अग्रता लिइरहेकी छन् । एमालेकी महतोलाई गठबन्धनतर्फका मेयरका उम्मेदवार माओवादी केन्द्रका ऋषि काफ्ले पछ्याइरहेका छन् ।