ब्रेकिङ स्टोरी

यसपटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

By खबरहब

May 16, 2022

काठमाडौँ : यसपटकको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले पछिल्लो परिणाम हेर्दा धेरै ठाउँमा जित हासिल गरेको छ । यस्तै उसले अहिलेसम्म अग्रता पनि अरु दलभन्दा दोब्बर बनाएको छ ।

पछिल्लो चुनावी मतपरिणाम हेर्दा कांग्रेसले ८४ पालिकामा जित हासिल गरेको छ । यो नतिजा अहिलेसम्मको सर्वाधिक हो । दोस्रो स्थानमा रहेको एमालेले ५५ पालिकामा विजय हात पारेको छ । यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने ३९ ठाउँमा मात्रै जित दर्ता गरेको छ । गठबन्धन गर्दाको सिधा फाइदा कांग्रेसलाई भएको छ । त्यसको केही फाइदा माओवादीलाई पनि भएको देखिन्छ । गठबन्धनमा नेकपा एकिकृत समाजवादी भने जम्मा तीन वटा पालिकामा मात्रै जित हात पार्न सफल भएको छ ।

यस्तै अग्रताका हिसाबले पनि नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले अहिलेसम्म २२८ पालिकामा अग्रता लिएको छ भने एमालेले १३९ पालिकामा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले ८४ पालिकामा मात्रै अग्रता बनाएको छ ।

यसपटक एमाले विभाजन हुँदा त्यसको सोझो असर चुनावमा परेको देखिन्छ । गठबन्धन गर्दा कांग्रेससँगै माओवादीलाई पनि केही पालिकामा जित हात पार्न सहज भएको छ । तर केही ठाउँमा स्वतन्त्र उम्मेद्वारका कारण गठबन्धन र एमाले उम्मेद्वारलाई जित हात पार्नै सकस भइरहेको पनि चुनावी दृश्यले देखाएका छन् ।

यसअघि गएको स्थानीय तहको चुनावमा कांग्रेसले राम्रै जित हात पार्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनावमा एमाले माओवादीका कारण कांग्रेस धेरै ठाउँमा पराजित भएको थियो । यसपटक गठबन्धन जोगाउन सकेमा आम चुनावमा कांग्रेस माओवादीले अझै धेरै सिट जित्ने सम्भावना छ ।