क्रिकेट

कुकको विरासतमा रुटको लोभलाग्दो सफलता

By एसेन्स श्रेष्ठ

June 16, 2022

इंग्लिस क्रिकेटमा एलिस्टर कुकको नाम कहिल्यै मेटिदैन । विश्वमा सबैभन्दा पहिले क्रिकेट खेल्ने देश इंग्ल्याण्ड हो । जसको क्रिकेटको लामो यात्रा यादगार हुन सक्छ । तर यी सबैको पर्याय कुक हुन् । पछिल्लो आधुनिक पुस्ता र आधुनिक क्रिकेटमा कुकको नाम यसैकारण ऐतिहासिक मानिन्छ ।

तिनै कुकको छत्रछायामा हुर्किएका र सफलता पछ्याएका व्यक्ति हुन्, जोय रुट । रुट पछिल्लो समय चर्चामा छन् । चर्चा हुनुको कारण उनले टेस्ट क्रिकेटमा लोभलाग्दो सफलता हात पारिरहेका छन् । अनि केही ऐतिहासिक किर्तिमान पनि । उनले टेस्ट क्रिकेटमा ब्याट चलाउने क्रममा कुकलाई पनि पछि पारिदिएका छन् ।

हालै टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १० हजार रन पुरा गर्ने किर्तिमान आफ्नो नाममा लेखाएका रुट आइसीसीको नम्बर एक टेस्ट ब्याटर पनि बनेका छन् । न्युजिल्याण्डविरुद्धको दुई खेलको टेस्ट क्रिकेट सिरिजमा लगातार शतक बनाएका रुटले सफलता, किर्तिमान र आफ्नो ब्याटिङ फर्मको उत्कृष्ट नमूना पेश गरे । जसलाई अहिले विश्वभर प्रशंसा गरिएको छ ।

इंग्लिस टोलीलाई लगातार जित दिलाउन नसकेपछि रुटले टेस्ट कप्तानबाट राजीनामा दिएका थिए । तर राजीनामाले उनको ब्याटिङ फर्मलाई झन् मलजल गरेको छ । कुनै पनि दबाबविना उनलाई ब्याट चलाउन सहज भएको छ ।

पछिल्लो एक वर्षमा उनले प्रहार गरेका १० शतकले यही कुराको पुष्टि गर्छ । र, एकवर्षकै बीचमा उनी दुई पटक टेस्ट क्रिकेटको नम्बर एक ब्याटरका रुपमा सफलता हासिल गर्न सक्षम भएका छन् ।

आक्रामक अलराउण्डर बेन स्टोक्सको हातमा कप्तानी सुम्पिएर टिमलाई जिताउन रुटले जसरी ब्याट चलाइरहेका छन्, त्यो उनको मेहनत, धैर्यता, त्याग र समर्पणको एक हिस्सा हो । जसले विश्वभरका युवा क्रिकेटरलाई प्रेरणा दिइरहेको छ । त्यो पनि इंग्लिस युवा ब्याटरका लागि एक विशेष शिक्षा हो ।

न्युजिल्याण्डविरुद्धको शतक र १० हजार रनको किर्तिमान

इंग्ल्याण्ड भ्रमणमा रहेको न्युजिल्याण्डसँग पहिलो टेस्ट चल्दै थियो । राम्रो ब्याटिङ गरेको घरेलु टोलीका लागि न्युजिल्याण्ड कम थिएन । तर पनि घरेलु मैदानमा इंग्लिस ब्याटरले जितका लागि २ सय ७७ रनको चुनौति पाए ।

लर्डसमा इंग्ल्याण्डले जित मात्रै हासिल गरेन । पूर्व कप्तान रुटले २६ औँ टेस्ट शतक प्रहार गरे । अनि त्यही खेलमा १० हजार टेस्ट रनको किर्तिमान पनि बनाए । उनी टेस्ट क्रिकेटमा १० हजार रन बनाउने विश्वका १४ औँ खेलाडी हुन् ।

रुटले आफ्नो २ सय १८ औँ पारीमा १० हजार रनको कोशेढुङ्गा पुरा गरेका हुन् । रुटले छोटो समयमा नै इङ्ल्याण्डको धेरै क्रिकेट खेलहरूमा प्रतिनिधित्व गरे । २१ वर्षको उमेरमा इङ्ल्याण्डका लागि डेब्यु गरेका रुटले १० हजार रन पुरा गरेको समय अवधिलाई हेर्दा भने सबैभन्दा छोटो रहेको देख्न सकिन्छ । रुटले कम उमेरमा नै द्रुत गतिमा ठूलो किर्तिमानी सफलता हात पारेका हुन् । डेब्यु गरेको ९ वर्ष १ सय ७१ दिनमा रुटले टेस्ट क्रिकेटमा १० हजार रन पूरा गरेका हुन् ।

रुट र इङ्ल्याण्डका अर्का क्रिकेटर एलिस्टर कुक दुवैले ३१ वर्ष १ सय ५७ दिनको उमेरमा १० हजार रन पूरा गरेका छन् । जबकी कुकले डेब्यु गरेको १० वर्ष ८७ दिनमा सो रनको कीर्तिमान बनाएका थिए ।

टेस्ट क्रिकेटमा करिब १० वर्ष बिताउनु लागेका रुटको यो किर्तिमान अपेक्षित नै थियो । रुटले आफ्नो पहिलो पाँच वर्षको दौरानमा ६४ टेस्ट खेलपश्चात उनको औसत स्ट्राइक रेट ५२ दशमलव ४५ रहेको थियो । त्यसको ३ वर्षपश्चात् उनको औसत ५२ दशमलव ४५ मा घट्यो । सो समयअवधिमा खेलेको ३३ टेस्ट खेलमा रुटले केवल ४ शतक प्रहार गरे । सन् २०२० मा उनले एकभन्दा बढी टेस्ट खेल खेले पनि रुट शतकविहिन भए ।

तर, सन् २०२१ को सुरुवातसँगै रुटको ब्याट आक्रामक रुपमा चल्न थाल्यो । विगतको २१ टेस्ट खेलमा रुटले २ हजार १ सय ९२ रन बनाउन सफल भए । उनको औसत स्ट्राइक रेट ५६.२० रहेको थियो । उनले २१ खेलमा ९ शतक प्रहार गरे । सन् २०२१–२२ को एसेस सिरिज भने रुटको लागि सन्तोषजनक रहेन । उनले १० पारीमा औसत ३२.२० स्ट्राइक रेट थियो ।

कोहली, स्मिथ र विलियम्सनभन्दा अगाडि

वर्तमान विश्व क्रिकेटका चार हस्तीमा रुट यतिबेला आक्रामक ब्याटिङ लाइनअपको शीर्ष स्थानमा छन् । त्यसमा पनि टेस्ट क्रिकेटमा १० हजार रन पूरा गर्ने उनी एक्ला ब्याटर हुन् । विराट कोहलीले टेस्टमा सर्वाधिक २७ शतक बनाएपनि पछिल्लो तीन वर्षदेखि उनी शतकविहीन छन् । समान २७ शतक बनाएका अष्ट्रेलियाका स्टिभ स्मिथले पछिल्लो एक वर्षमा १ शतक बनाए । यस्तै न्युजिल्याण्डका कप्तान केन विलियम्सन झनै पछाडि छन् ।

रुटको अन्तर्राष्ट्रिय मैदानमा औसत स्ट्राइक रेट हेर्ने हो भने ४६.६७ रहेको छ । यसलाई हेर्दा रुट दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेको अष्ट्रेलियाली क्रिकेटर स्टीभ स्मिथको स्ट्राइक रेट ५७.०६ रहेको छ ।

न्युजिल्याण्डका केन विलियमसन र भारतका विराट कोहलीको भने औसत ४२.८१ रहेको छ । कोहली र विलियमसनको होम अवेको रेकर्ड भने निराशाजनक नै रहेको छ । जबकी रुटको गृह मैदानमा औसत स्ट्राइक रेट ५२.९३ रहेको छ भने बाँकी ३ जनाको औसत ६० मा छ ।

यसमा इङ्ल्याण्डले खेलेको अत्याधिक टेस्ट खेलले पनि मुख्य भूमिका खेलेको छ । रुटको डेब्यूपश्चात इङ्ल्याण्डले १२० टेस्ट खेलेको छ । जबकि न्युजिल्याण्डले ७९ तथा भारत र अष्ट्रेलियाले ९५ टेस्ट खेल खेलेका छन् ।

तेन्दुलकरको किर्तिमानीलाई धक्का

१० हजार १५ रनसँगै टेस्ट शैलीमा रुट १४ औँ स्थानमा छन् तर सक्रिय खेलाडीमा भने उनी शीर्ष स्थानमा छन् । रुटको यो उपलब्धीसँगै उनको तुलना सचिन तेन्दुलकरसँग हुन थालेको छ । रुट र तेन्दुलकरबीच करिब ५ हजार ९ सय ६ रनको फरक छ ।

यदि रुटको वार्षिक १००० रनको औसतलाई हेर्ने हो भने टेस्ट क्रिकेटमा दुई ब्याटरबीच ६ वर्षको मात्र फरक देखिन्छ । रुटको अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने कप्तानी छाडेका रुटले आगामी वर्षमा तेन्दुलकरको किर्तिमानीलाई धक्का पुर्‍याउने अनुमान गर्न सकिन्छ । तर, आउँदो वर्षभरिमा रुटको ब्याट कसरी चल्छ ? त्यसैमा निर्भर छ । जसको साक्षी धुरन्धार विराट कोहली र स्टिभ स्मिथ छँदै छन् ।