समाचार

विद्युत् गृहमा मृत्यु भएकाको परिवारलाई गाउँपालिकाको राहत

By खबरहब

July 16, 2022

जुम्ला – हिमा गाउँपालिकाले विद्युत् गृह भाँसिदा मृत्यु भएका तीन जनाको परिवारलाई एकलाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले मृतकका परिवारलाई तत्काल राहतस्वरूप एक लाख रकम दिने निर्णय गरेको बताएका हुन्। घटनाको स्थलगत अनुगमनपछि बसेको कार्यपालिकाको बैठकले क्षतिग्रस्त विद्युत् गृहको निर्माणका लागि प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले संघीय सरकारको तर्फबाट पनि प्रतिव्यक्ति एक लाखको दरले राहत प्रदान गरिने जानकारी दिइन्।

गाउँपालिकाको वडा नम्बर १ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युत्को पावर हाउस पहिरोले भासिँदा विद्युत् अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोरोको मृत्यु भएको थियो।