काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिएका छन् ।
नेपाल चीन हिमालय मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चुनौती दिएका हुन् ।
उनले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउँनका लागि अदालतमा मुद्दा हाल्न पनि बामपन्थी भन्नेहरू नै अदालत गएको जिकिर गरे । गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने उनले बताए । उनले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गरे ।
अध्यक्ष ओलीले विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउँदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरू अघि बढ्नुपर्ने बताए । ओलीले एमसीसीका नाममा आफूलाई बदनाम गर्ने कोसिस भएको भन्दै आफूले देश र जनता विपरित कुनै पनि काम नगर्ने स्पष्ट पारे । राष्ट्रियताका विषयमा संसद्मा छलफल हुनुपर्ने भएपनि संसद्ले राष्ट्रियता आकांक्षा विपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गरे । उनले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शासनका लागि गर्न नसकेको बताए
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरूको एक हुनुपर्ने बताएका थिए । उनले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सबै सचेत रहनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिइसक्नुपर्ने बताएका थिए । उनले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गरे ।