राजनीति

सूर्यमा लड्दा हारिन्छ, जित सुनिश्चितताका लागि माओवादी रोजेँ : वामदेव

By खबरहब

August 16, 2022

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भए पनि आफूहरू गठबन्धनमा नरहेको बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने तर गठबन्धन भित्र नबस्ने बताएका हुन्। अहिलेलाई माओवादीको चुनाव चिन्हबाट लड्दा सहज हुने भएकाले सहकार्य गरेको उनको भनाइ छ । गौतमले आफूलाई कुन सिट दिन भन्ने जिम्मा प्रचण्डको रहेको जिकिर गरे।

प्रतिनिधिसभा तर्फ एक सिट र प्रदेशसभामा कम्तीमा २ सिट नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव आफूहरूको रहेको उनको भनाइ छ । आफूलाई चुनाव जित्ने आधार चाहिएको र सूर्य चिन्हमा चुनाव लड्दा पराजित हुने भएकाले जित सुनिश्चितताका लागि माओवादी रोजेको बताए ।

उनले आफूहरूको ध्यान कम्युनिष्ट पार्टीलाई एक बनाउनेमा केन्द्रित रहेको बताए।