प्रवास

राजदूत वाग्ले र बहराइनका श्रम मन्त्री अलीबीच भेटवार्ता 

By योगेन्द्र योगी

September 16, 2022

दोहा – नेपाली राजदूत तीर्थराज वाग्लेले बहराइनका श्रम मन्त्री जमील मोहम्मद अली हुमैदानलाई भेट गरेका छन्।

श्रम मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बहराइनबीचको विविध पक्षसहित खासगरी श्रमसम्बन्धी समस्या समाधानका विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ।

सन् २००८ मा भएको नेपाल-बहराइन श्रम सम्बन्धी समझदारीलाई समय सापेक्ष परिमार्जन गर्ने विषयमा छलफल भएको जनाइएको छ। साथै, बहराइनमा कार्यरत नेपाली कामदारका हकहित प्रवर्धन, सचेतना, तालिम तथा व्यवस्थित रोजगारीको विषयमा पनि कुराकानी भएको बताइएको छ।

भेटमा दूतावासका उप- नियोग प्रमुख अरुणा घिसिङ र श्रम सहचारी जमुना काफ्ले पनि उपस्थिति रहेको थियो। राजदूत वाग्ले आफ्नो कार्यभार सम्हाल्न २०७९ श्रावण १६ अर्थात् १ अगस्टमा बहराइन पुगेका थिए।