मुख्य समाचार

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

September 16, 2022

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. जबराले आफ्नो बयानको लिखित पत्रमा हस्ताक्षर गर्दै 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानको लिखित पत्रमा  हस्ताक्षर गर्न लागेका छन् । महाभियोग सिफारिस समितिमा  जबराले बयान दिने क्रममा बोलेको कुरालाई उतारेर राखेको कागजमा हस्ताक्षर गर्न लागेका हुन् ।

जबराले गत  भदौ १५, १६, १९, २६ र २८ गते दिएको बयानलाई उतारेको पत्र (भर्बेटम) मा हस्ताक्षर गर्न लागेका हुन् । यसअघि समितिमा जबराले  लिखित बयान अध्ययन गर्न नपाएकाले यत्तिकै हस्ताक्षर नगर्ने अडान लिएका थिए । समितिमा प्रतिनिधित्व गर्ने एमालेका सांसदहरूले पनि कागजमा नै हस्ताक्षर गराउनुपर्ने माग गरेका थिए ।

कांग्रेस सांसद मीन विश्वकर्माले भने करिब १ सय ७४ पेजको प्रतिवेदन भएको हुनाले जबराले  भिडियो र अडियोमा नै हस्ताक्षर गर्छु भनेको तर अहिले आएर कसैको उक्साहटमा परेको हो कि भन्ने लागेको  बताएका थिए ।

 २. २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची खारेज हुने 

२०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  भएको छ ।

निर्वाचन आयोगले  आज एक विज्ञप्ति जारी गर्दै ०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने जनाएको हो ।  

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा सो  निर्णय गरिएको आयोगले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची यही असोज २ र ३ गते बुझाउने कार्यतालिका छ ।

 ३.  नागरिकता विधेयकमा पुनर्विचार गर्न सांसद सुवालको माग  

 सांसद प्रेम सुवालले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नेपाल नागरिकता विधेयकमा पुनर्विचार गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै नेता सुवालले नागरिकता विधेयकमाथि अझै छलफल आवश्यक रहेको बताए ।

नागरिकता विधेयकमाथि राष्ट्रपतिबाट प्रमाणीकरण गर्न दिनुहुँदैन भन्ने जनताको आवाजको सम्मान गर्नुपर्ने उनले  भनाई राखे  संघीय संसदअन्तरगत प्रतिनिधि सभा र राष्ट्रियसभाबाट हुबहु पारित भएर नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाइएको छ ।

 यद्यपि  हालसम्म  राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेकी छैनन् । 

 ४. आगामी निर्वाचनमा खट्न नेता तथा कार्यकर्तालाई ओलीको निर्देशन 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खट्न निर्देशन  दिएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकमा असोज १ गते मध्य रातदेखि संसद्को कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरूलाई निर्देशन  दिएका हुन् ।

यस्तै  ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले एमालेको बहुमत पुर्‍याउनतिर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन  दिएका हुन् ।

५. प्रधानमन्त्रीद्वारा घिमिरेको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसले पाल्पाका पार्टीका नेता विजयराज घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभापति देउवाले घिमिरेको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । क्यान्सर रोगबाट पीडित घिमिरेको  गए राति उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।

विसं २०५६ र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट कांग्रेसको उम्मेदवार बनेका घिमिरे कांग्रेस केन्द्रीय लेखासमितिको पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य थिए ।

६. आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

धनुषामा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

७. गोरुसिंगे सडक आज बिहानैदेखि अवरुद्ध

अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा पहिरो खसेपछि  गोरुसिंगे सन्धिखर्क सडक आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

नरपानीको दहखोला नजिकै पहिरो खसेपछि गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सडक अवरुद्ध भएपछि सन्धिखर्कबाट छुट्ने तथा बाहिरबाट सन्धिखर्क भित्रने गाडीहरू बीच बाटोमै रोकिएका छन् ।

उता ताप्लेजुङको पाथीभरा याङवराक गाँउपालिका–१ सेसम्बुमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

मेची राजमार्गअन्र्तगत सेसबुमा गएराती खसेको पहिरोले अवरुद्ध सडकमा जेसीवीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।

८. पुल अलपत्र पार्ने कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस

कर्णाली र लुम्बिनी प्रदेश जोड्ने भेरी नदीको पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरिएको एक सूचना जारी गर्दै कालो सुचीमा राख्न सिफारिस गरेको हो।

खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको हो। सुर्खेतको बराहताल गाउँपालिका–२, रानीघाटस्थित भेरी नदीमा पुल निर्माण कार्य सुरु गरिएको थियो।

२०६९ असार २९ गते निर्माण कम्पनी पप्पु-मल्ल जेभी कन्स्ट्रक्सनले १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेर ३ वर्षभित्र निर्माण पूरा गर्ने गरी काम सुरु गरेको थियो ।

 ९. न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको एक तथ्य सार्वजनिक

अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो ।

सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् । न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ ।

विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ ।घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ । 

१०. नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।  

प्रधानमन्त्री निवास बालुवाटारमा  आज बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर ट्रफी सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तयारी छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदै छ ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो ।