धर्म / संस्कृति

ऋतु रहस्य : पानी र तुलसीको महत्त्व

By अच्युतप्रसाद पौडेल ‘चिन्तन’

October 16, 2022

मुख्य छ ऋतुमध्ये वर्षाऋतु समापन भएर शरदको आरम्भसँगै किसानका धानबाली झुलिसकेको छ। शरदको आरम्भसँगै मनसुन तीव्र हुँदा महिनाभर नै वितण्डा जमायो। धेरै ठूलो धन, जनको क्षति भयो। ढिलो गरी मनसुन बाहिँरहँदा धेरै नेपालीको अकालमा ज्यान गयो। पूर्वीय दर्शनअनुसार श्रावण र भाद्रमहिना वर्षाऋतु हो। असोज आरम्भसँगै नेपालीका मनमा थप हर्ष हुनु पर्नेमा गत वर्षझैं यसपालि पनि खिन्न नै भयो। पूर्व सचेतनामा हामी कमजोर देखियौँ। विश्वका विभिन्न मुलुकपिच्छे ऋतुहरू फरक हुन सक्छन्। संसार वा शरीरका पन्च तत्त्व मध्ये पानी एक प्रमुख विषय हो।

पृथ्वीमा जमिनभन्दा पानीको मात्रा दुई तिहाइले बढी छ। सूक्ष्म ब्रह्माण्ड हाम्रो स्थुल शरीर पनि पाँचतत्त्वको सम्मिश्रण हो। बाह्य संसार भन्नु माटो र पानीको खेल हो। भित्री संसार हाम्रो शरीर र मन मस्तिष्कलाई शीतल जल हरपल आवश्यक हुन्छ। हाम्रो खानामा पनि पानीको मात्रा बढी र हामी बसेको जमिनमुनि पानीको अथाह जल भण्डार छ।

चिकित्सकहरू भन्छन् शरीरको तौललाई २० ले भाग गर्दा हुन आउने अंक बराबर लिटर दैनिक पानी पिउने गर्नुपर्छ। ६० किलो वजनको मानिसले दिनमा तीन लिटर पानी पिउनु आवश्यक हुन्छ। पूर्वीय शास्त्रले पानीको व्यवस्थापन, पानीको स्रोत र यसको निकास, पानीको उपचार पद्धति, प्रदूषणमुक्त पानीको आपूर्ति, त्यसको भण्डारण, घरभित्र र घरबाहिर पानीको आपूर्ति स्थितिदेखि निष्कासन पद्धतिसम्ममा चर्चा गरेको छ। घरभित्र भूमिगत पानीको व्यवस्था इनार वा धाराको स्थिति, स्नानघरको दिशा निर्धारण, पानीको बहाव अध्ययनदेखि खेती किसानी कार्यमा प्रदूषणमुक्त पानीको आपूर्तिबारे समेत चनाखो रहन भनेको छ। तर, हामीले पानीको व्यवस्थापन गर्नै जानेनौँ।

स्वच्छ र पवित्र जलमा रहने जलचरको स्थिति, तालतलैया, नदी संरक्षण, भूक्षय निवारणदेखि वृक्षरोपणसम्म हाम्रो ध्यान नपुगेको पाइन्छ। पानीको बहावस्थिति यसको वैज्ञानिक अध्ययन र विश्लेषण एवं समुचित प्रबन्ध हुन नसक्ता ठूला नदी प्रदूषित भएका छन्। यसको प्रभाव हाम्रो जनजीवनमा परेको छ। काठमाडौं उपत्यकास्थित पवित्र बागमती, विष्णुमती, इक्षुमती, रुद्रमतीमा अब पानीको बहाव होइन ढलको बहाव मात्र छ। विषादिका कारण बागमतीमा वर्षमा आठ महिना ढल बग्ने गर्छ भने बाँकी चार महिना वर्षे मैलो भेल बग्ने गर्छ। जलचरहरू नरहने विषयुक्त नदीमा स्नान गर्न हुन्न। शास्त्रीय दृष्टिले घरभित्रको पानी निष्कासन गर्दा पूर्व, उत्तर वा ईशानकोण तर्फबाट निस्कासन गर्नुपर्छ। घरको पश्चिमतर्फबाट पानी निस्कासन गर्दा घरमा सह हुन्न, दक्षिणतर्फबाट निस्कासन गरेमा परिवारमा अनावश्यक स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने गर्छ। छतको पानी र सेफ्टी टयाङ्कीको पानी एकैसाथ निष्कासन गर्नु पनि हुँदैन। छानामाथिको पानी वा खाली जमिनको पानी वा आँगन, चोक, बारी आदिको पानीको निस्कासन पनि सकेसम्म उत्तरी भागतर्फ निकास दिनु पर्छ। तर, हाम्रो सबै पानी देशको दक्षिणतिर बगेको छ। जसले हामी सँधै भिक्षार्थी भएका छौँ। तिहार आउनै लागेको छ, धनसारको पूजा त गरिन्छ, धन भनौँ लक्ष्मीको सदुपयोग गर्न जानेनौँ हामीले। अरुको देखासिकी भनौँ नक्कल गरेका छौँ। दौरा न सुरुवालको खल्ती भन्ने उखान सार्थक हुँदैछ।

घरको ठीक ईशान दिशामा इनार, वोरिङ्ग वा हल्का गहिरो क्षेत्र शास्त्रीय दृष्टिले शुभ मानिन्छ। ठिक ईशानदिशामा सम्भव नभए पूर्व या उत्तर पनि इनारको लागि शुभ मानिन्छ। तर, दक्षिण, नैऋत्य दिशामा रहेको इनारले रोग, अशान्ति, धनको हानी शरीर पीडा आदिको संकेत दिन्छ।

वायव्य वा पश्चिम दिशाको पनि इनार शुभ हुँदैन। अग्निभय, शत्रुपीडा, सन्ततिक्षय र आर्थिक संकट आदि घरको इनार नमिलेकै कारण हुने गर्छ। त्यसैगरी भूमिगत टयांकी पनि सर्वोत्तमक्षेत्र घरको इशानदिशा नै हो। इशानकोण संभव नभए उत्तर या पूर्वतर्फ पनि उत्तम हुन्छ।

जमिन सतहभन्दा अग्लो हुनेगरि भने टयांकी बनाउनु हुँदैन। हिजोआज घरभित्र र त्यसमा पनि कोण पर्खालमा पर्नेगरी भूमिगत टंयाकी निर्माण गर्ने गरेको देखिन्छ, त्यो शुभ होइन। छानामाथिको टयांकी भने नैऋत्य दिशा सर्वोत्तम हो। नैऋत्य दिशामा सम्भावना नरहे वायव्य दिशामा छतको टयांकी राख्न सकिन्छ। घरभित्र स्नानगृह भने घरको पूर्वदिशा सर्वोत्तम हुन्छ। अन्य दिशातर्फ पनि स्नानगृह बनाउन सकिन्छ। तर, स्नान गर्दा, हात– मुख, धुँदा जहिले पनि सकेसम्म पूर्व या उत्तर वा पूर्वोत्तर फर्कनुपर्ने हुन्छ। गीजरको प्रबन्ध भने स्नानगृहको पूर्व दक्षिण कुनामा गर्नुपर्ने हुन्छ भने वासबेसिन, ऐना आदिको प्रबन्ध उत्तर– पूर्वमा नै गर्नुपर्ने हुन्छ। घरबाहिरको स्नानगृह अन्य दिशामा पनि राख्न सकिन्छ। घर/भवनको भित्तामा टाँस्नु भने हुँदैन। ठूला महलहरूमा पानीको प्रबन्ध हरेक तला पिच्छे छुट्टाछुट्टै गर्नुपर्छ र यसो गर्दा उत्तर/पूर्व तर्फ नै पिउने पानीको प्रबन्ध गर्नुपर्छ।

वर्षा ऋतुमा वृक्षरोपण गरी सदैव हरियाली निर्माण गर्न सके समस्त दिवंगत पितृहरूले खुसी हुन्छन्। वृक्षरोपण गर्नु भनेको पितृयज्ञ नै हो। घाम झुल्किएझैं झुल्केको मेलम्ची हाल अस्ताएको छ। काठमाडौँवासी काकाकुल बनेका छन्। चुनाव नलागी त्यो उठ्दैन। उठ्नासाथ चुनाव सकिएपछि सुतिहाल्छ मेलम्ची। स्वदेशी विदेशीहरू रानीपोखरीमा पानी चाहन्छन्। त्यसैले ट्यांकरबाट खन्याइएको छ। वृक्ष वरपर नै पानी बढी हुन्छ। अरुको लागि पानीको प्रबन्ध गर्नु भनेको महा– पुण्य प्राप्ति गर्नु हो। जहाँ सिमसार क्षेत्र वा जलाशय हुन्छ त्यहाँको प्रकृति रमणीय हुन्छ र जलचरहरू संरक्षित महसूस गर्न सक्छन्। जलचर हाम्रा अभिन्न मित्र नै हुन्। जीवमात्रको कल्याण मानिसको ठूलो धर्म हो। मानिसले केवल आफ्नाका लागि मात्र पानीको प्रबन्ध गरेर हुँदैन अरुको लागि पनि गर्नुपर्छ। कुवा, तलाउ, धारा निर्माण गर्ने मानिसले जीवनमा अन्य बस्तु दान गर्नु पर्दैन भनिएको छ। आफूले निर्माण गरेको कुवा, तलाउ क्षेत्रमा सधैँभरि पानी रह्यो भने उसलाई विषम सङ्कटको घडी कहिल्यै देखा पर्दैन।

वर्षा ऋतुमा निर्माण भएका कुवा आदिमा शरद ऋतुसम्म पानी रह्यो भने त्यस्तो व्यक्तिले एक हजार गोदानको पुण्य प्राप्ति गर्न सक्छ। वर्षा ऋतुमा निर्माण गराएको इनार, कुवामा हेमन्त वा शिशिर ऋतुसम्म पानी रहेमा धेरै स्वर्ण मुद्रा दान गरेको पुण्य मिल्छ। हिजोआज असारे विकासले घरवरिपरि, बाटोघाटो सबै पिच गर्ने परिपाटीले वर्षाको पानी जमिनभित्र जान सकेको छैन र भूमिगत पानीको हालत हामीलाई थाहै छ। इनार, जलाशय, नदी, कुवा, निर्माण गर्ने क्षेत्र प्राय शहरीक्षेत्रमा देखापर्दैन तर पनि सत्यरूपी तीर्थ नै विशाल, सिद्ध र पवित्र जलाशय हो यसमा योगाभ्यास गरी मनद्वारा सात्विक र प्रदूषणमुक्त स्नान गर्न सके माथिको पुण्य प्राप्त गर्न कठिन छैन।

पिपल र तुलसीले धेरै पानी बोक्छ। तुलसीको विशेष पर्व आषाढ शुक्ल एकादशी अर्थात् चतुर्मासको आरम्भसँगै अब कार्तिक शुक्ल एकादशीमा समापनतिर उन्मुख छ। प्रत्येक तिथि र बारका स्वामीहरू अलग अलग रहेका छन्। द्वादशीका स्वामी विष्णु हुन्। विष्णु भन्नु तुलसी नै हो। तुलसीको शाब्दिक अर्थ ‘तु’ भन्नाले तुरीय अवस्था मानवको मस्तिष्क ज्ञानको अभिव्यक्ति बुझिन्छु। ‘ल’ को अर्थ वैराग्यको प्रतीक हाम्रो स्थूल शरीर भाग शेष अर्थात् ‘लक्ष्मण’ बुझिन्छ र ‘सी’ को अर्थ हुन्छ हाम्रो हृदयको प्रतीक भक्ति ‘सीता’ हो ! हाम्रो मस्तिष्कमा ज्ञान र विज्ञान, हृदयमा भक्ति र बाह्य शरीरमा वैराग्यको त्रिवेणी भन्नु नै तुलसी उपासनाको मूल ध्येय हो। घर, महल, मठ, मन्दिरहरूमा र चतुर्मास अवधि आषाढदेखि कार्तिकसम्ममा तुलसीको विशेष चिन्तन हुने गर्छ। तुलसीवृक्ष, उपासना वा मोठ भएका घरमा वास्तुदोष पनि रहँदैन। तुलसी मोठ नजिक आकाश दीप बाल्ने गरिन्छ जुन केही दिन अघि भनौँ यही असोज पूर्णिमाको भोलिपल्टदेखि सुरु भइसकेको छ। आवासगृहमा अन्य वृक्ष, रुखहरुले छाया परेका भए वास्तु दोष मानिन्छ भने तुलसी वृक्षको छाया परेमा वास्तुदोष मेटिन्छ। शास्त्रअनुसार तुलसीको मोठ गमला आदि सजाउने कार्य उत्तर, पूर्व या पूर्वोत्तर गर्नुपर्छ। तुलसीवृक्षबाट विघ्न, बाधाहरु हट्छन्। मनको भय, अशान्तिहरु दूर हुन्छन्। रोगनाशक शक्ति हुन्छ तुलसीमा ! आपत् उद्वारक बीज शक्ति तुलसीको उपासना गरेरै अपहरित सीतालाई रावणरुपी क्रोध, भय, हिँसाको अनि तनावको स्थितिबाट मुक्त गर्नु भएको थियो श्रीरामले ! पञ्चवटीक्षेत्रमा आफ्नै हातले जलसेचन गर्दै तुलसी प्रार्थना गरेको र उनै राम द्वापरयुगमा कृष्ण भई धर्ती अवतरित भएर वृन्दावन सुरम्य भएको हो। वृन्दा भन्नु तुलसी नै हो, यसको विशालताले त्यो क्षेत्र वृन्दावन भएको हो।

तुलसी वृक्षक्षेत्र आफैँमा पवित्र हुन्छ, नयाँ ऊर्जा पनि दिन्छ। मृत्यु शैय्यामा पुग्न लागेकाहरूलाई यसले ‘मृतसञ्जीवनी’ को काम गर्छ। तुलसी दर्शनले शरीरको सबै प्रकारको अभिष्टफल प्राप्त हुन्छ ।

घरघरमा तुलसीको स्थापना गर्नाले परमेश्वर सदा शिव सदैव प्रसन्न हुनुहुन्छ। तुलसीदललाई वैधृतियोग, व्यतीपातयोग, भृगुबार, मङ्गलबार, औँसी, पूर्णिमातिथि, द्वादशी, आशौच समय र सूतकमा टिप्नु हुँदैन। तुलसीका सुप्रसिद्ध आठ नामहरु मध्ये-‘वृन्दा’, ‘वृन्दावनी’, ‘पुष्पसारा’ ‘नन्दिनी’ हो जसको अर्थ हुन्छ – सारा विश्वलाई पवित्रतम बनाउने ! विश्व ब्रह्माण्डको उदय धर्तीको मूल तत्व पाँच भौतिक पदार्थ हो। अग्निपुराण, अथर्र्ववेद, उपनिषद्देखि मत्स्य पुराणसम्म र अनेकौँ पूर्वीय धरोहर, साहित्य नै हुन्।

यसै अन्तर्गतको छुट्टै पुराण ब्रह्मवैवर्त पुराणले तुलसीको व्यापक चर्चा गरेको छ। तुलसीसँग वायु प्रदूषण मुक्त गर्ने क्षमताको साथै जल प्रदूषणको मुक्तिको क्षमतासमेत रहेको हुन्छ। यमुनातटमा द्वापर युगमा तुलसीवृक्ष भए पनि हाल कलियुगका नदी किनारमा तुलसीवृक्ष निषेध छ। जीवनका सञ्चालक जलशायी विष्णु र विष्णुको प्रतीक तुलसी अनि वर्षा ऋतुसँग घनिष्ट सम्बन्ध छ। वर्षाको पूर्वाभ्याससँगसँगै अन्नको मूलस्रोत जल भण्डार वितरण यसै आषाढदेखि नै हुने गर्छ। विस्तारै जलको वर्षा कमहुँदै जीवनको मूल स्रोत अन्न भण्डारको थालनी कार्तिक मार्गसँगै तुलसीको पूजा समापन हुने गर्छ।

जीवनको उदय भनौँ सृष्टि जलबाटै हुने हो र रक्षा अन्नबाटै हुने हो। जल र अन्न दुवैका लागि वायु र माटो आवश्यक छ। जीवन पनि वस्तुकै पर्याय हो। यसर्थ जीवन र हाम्रो समस्त जगत् व्यवस्थित सञ्चालनका लागि प्राप्त पूर्वीय चिन्तन मुताविक आफूलाई सहज ग्रहण गर्ने क्षमता राख्दा आफू, आफ्नो परिवार, समूह, समाज, राष्ट्र र पूरै विश्व एउटा परिवारमय हुन पुग्छ। जलवायु परिवर्तनको संकट समाधान गर्ने वैज्ञानिक उपाय दिन सक्छौँ हामी संसारलाई।