समाचार

विपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजी एयरलाइन्स

By खबरहब

October 16, 2022

जुम्ला– अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षति भएको छ । ठाउँठाउँमा गएको पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन  हुन लामो समय लाग्ने प्रष्ट छ । यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाको एक मात्रै यातायात सेवा भनेको हवाइ उडान मात्रै हो । यही मौकामा उनीहरूले नियमित उडान नभरेर चार्टर्ड उडान सुरू गरेका छन् । 

एकतर्फी मात्रै यात्रु हुने र सञ्चालन खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका छन् । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले  जुम्लाबाट नेपालगन्जको प्रतिव्यक्ति १४ हजार रूपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

जुम्लामा यतिबेला मात्रै नभइ लामो समयदेखि हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिकाअनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले  हुन् । 

नियमित उडान भन्दा चार्टड उडानको धन्दा बढी  नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टड उडान गरेको छ । तारा एयरले  चार वटा उडान भरेको छ भने जसमा एक चार्टड  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ । 

जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ । तर, चार्टड उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ । 

यस्तो छ उडान तालिका नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका छ।

यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ। तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल  कागजमै सीमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी यर लाइन्सको महंगो हवाई भाडा तिर्न बाध्य छन्।