धनगढी– नेपाली कांग्रेससँग सम्बद्ध रहि गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीबाट निष्कासन गरिएको छ । आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारवाही गरिएको जनाएको हो ।
सत्तारुढ गठबन्धन दलहरू र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमति अनुरूप आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि र प्रदेश सभा दुवै तर्फका उम्मेदवारलाई कारवाही गरिएको जनाइएको छ ।
‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यहोरा अवगत गराउँदछौ’ काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।