सांकेतिक तस्वीर

देश/प्रदेश

डेंगु सङ्क्रमित महिलाको उपचारका क्रममा मृत्यु

By खबरहब

October 16, 2022

चितवन– उपचारका क्रममा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार असोज २४ गते उपचारका लागि कलेजमा भर्ना भएकी उनको उपचारको क्रममा गत शुक्रबार मृत्यु भएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार डेंगु सङ्क्रमण भई चितवनका अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या योसहित तीन पुगेको छ ।

जसमध्ये दुई जना चितवनका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये एक हजार छ सय २१ जनामा डेंगु  देखिएको उनले जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हजार ८३ जना चितवनका रहेका छन् । 

दुई सय तीन जनाको ठेगाना नखुलेको र तीन सय ३५ जना बाहिरी जिल्लाका रहेका छन् । सात हजार एक सय ८४ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।