फाइल फोटो

राजनीति

पूर्वमन्त्री साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा

By खबरहब

October 16, 2022

काठमाडौँ– पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । 

अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक तोकेका छन् । आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक साहले ८ जिल्लाको संयोजक तोकेको जनाएका छन् । अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ । अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए ।

एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरूको प्यानल निर्माण गर्न लागेका हुन् ।