पहिलो घटना : महिला हिंसामा परेर अहिले समाजिक संजालमा धेरै छलफल र बहसमा आएकी महिलाको नाम हो, नेहा चौधरी । उनले फेसबुकमा लेखेकी छन्, ‘हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुराली रामगोपालपुर महोत्तरीमा हो । विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान, सासु र नन्दहरुले गाली र अभद्र व्यवहार गर्न थाले ! मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, ग्राण्डी अस्पतालमा काम गर्नु हुन्छ । मलाई नि आफूसँगै राख्नु भनेपछि कुटपिट गर्नु हुन्छ ।’ उनको दुःखमा त्यतिमा सीमित छैन । अहिले दाइजो मागेर कुटपिट गर्दै अदालतमा डाक्टर भनिने श्रीमान्ले नै डिभोर्सको मुद्दा हालेका छन् ।
मैले घरेलु हिंसा सहन नसकेर घरेलू हिंसाको मुद्दा अदालतमा दर्ता गराएँ । तर त्यहि दिन अदालतमा मुद्दा दर्ता गरेर मलाई घर छिर्न दिनु भएन ! मलाई अंश दिनू पर्छ डिभोर्स हुदा भनी वहाले आफ्नो सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरुलाई बकस गरीदिनु भयो ! मलाई वहाको सम्पत्ति वा अंश चाहिएको हैन ! मलाइ कतैबाट पनि न्याय मिलेन ।’ उनको बिहेमा करोड रुपैयाँ खर्च भयो । तर पनि अवस्था जस्ताको त्यस्तै छ ।
दोस्रो घटना : गएको बर्ष चितवनकी २८ वर्षीया सबिता भण्डारीको आत्महत्या प्रकरण चर्चित बन्यो । सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा ससुरा रमेशकुमार धितालले सबितालाई ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेको देखिन्थ्यो । सबिता आफ्नै घरमा पटक–पटक यस्ता यौन हिंसा सहन बाध्य भइन् । आफ्नी छोरीसमानकी बुहारीलाई कुदृष्टि राखेर ससुराले धम्की दिएर पटक–पटक यौन दुर्व्यवहार गरेको आरोप उनका माईती पक्षको थियो । सबिताले पटक–पटक घरपक्षबाट आफूमाथि दुव्र्यवहार हुने गरेको कुरा बहिनीलाई सुनाउने गरेको थिइन् । त्यसपछि बहिनीले पछि काम लाग्न सक्छ भन्दै दिदीलाई लुकेर भिडिओ खिच्न लगाएकी थिइन् । उनले ससुराले गर्ने हर्कतको भिडिओ बनाएर आफ्नी बहिनीलाई २०७७ माघ महिनामा पठाइन् । उनले आत्महत्या गर्नुभन्दा केही दिनअगाडि मात्र बहिनीलाई सबै कुरा सुनाएकी थिइन् । तर त्यसको सुनुवाई भएन । ४ वैशाखमा सबिताको चितवनको भरतपुर महानगर–१९ शारदा नगर बख्यान चोकस्थित आफ्नै घरमा झुन्डिएको अवस्थामा शंकास्पद शव फेला परेको थियो । तर प्रहरीले उनले आत्महत्या गरेको प्रमाणित गरियो ।
तेस्रो घटना : मोरङको उर्लाबारी नगरपालिका–८ दुर्गापुरी माइती भई सुन्दरहरैँचा–८ सलकपुरका विनोद काफ्लेसँग बिहे गरेकी २१ वर्षीया रोजिना गिरीको शव २०७८ असोज ३ गते उनकै कोठामा भेटिएको थियो । दुवै परिवारको अनुमति नपाएपछि विनोद र रोजिना गिरीले २०७७ साल असारमा भागी विवाह गरेका थिए ।
माइती पक्षले आफ्नो छोरीले आत्महत्या गर्न नसक्ने भन्दै प्रदर्शन गरेर अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन माग गरेपछि प्रहरीले काफ्ले र गिरी दुवै परिवारका साथै छिमेकी लगायतसँग सोधपुछ गर्दै अनुसन्धान अगाडि बढायो । बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको प्रहरीले उनलाई आत्महत्या गर्न बाध्य पारिएको ठहर गर्दै विनोदसहित उनका दाजु–भाउजू र आमाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता ग¥यो । विनोदका दाजु गणेश काफ्ले, विनोदकी भाउजू र आमाविरुद्ध प्रहरीले जिल्ला अदालत मोरङमा मुद्दा चलाएको भए पनि परिवारका अन्य सदस्यमा मुद्दा नलाग्ने भन्दै विनोदविरुद्ध मात्र मुद्दा दर्ता भएको थियो । पक्राउ परेको दुई दिनमै कात्तिक ५ गते उनी तीन लाख धरौटीमा रिहा भए । विनोद रिहा भएपछि रोजिनाको माइती पक्ष पुनः असन्तुष्ट बन्यो ।
चौथो घटना : रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२, ढवाहकी अनिता रेग्मीको २०७८ साल असोजमा रहस्यमय तरिकाले मृत्यु भयो । ढवाहकै सुमन खनालसँग २०७५ सालमा वैवाहिक जीवनमा बाँधिएकी २७ वर्षीय रेग्मीलाई सुमनले विवाह गर्दा कुनै पनि दाइजो नचाहिने बताए पनि विवाहपछि भने बारम्बार दाइजोको विषयलाई लिएर मानसिक तनाव दिँदै आएको माइतीपक्षले आरोप लगाइरह्यो । असोज २३ गते उनको अमेरिकाको फ्लाइट थियो । त्यसैले २० गते उनले घरको आफू सुत्ने कोठाका सबै समान मिलाएर, दराजको सामग्री सुरक्षित पारेर उसै दिन माइतीलाई भेट्न हिँड्ने तयारी गरिरहेकी थिइन् । असोज २० गते बिहान ११ माइतीसँग म्यासेन्जरमा कुरा गरेकी अनिताले मम्मी (सासू–आमा) अहिले बुटवल जानुभएको छ, उहाँ आउनेबित्तिकै माइत आउँछु भनेकी थिइन् । त्यसपछि १२ बजेर २ मिनेटमा अमेरिकामा रहेका पति सुमन खनाललाई म्यासेन्जरमा– ‘बूढो मलाई माथि मम्मीले बोलाउनु भएको छ, माथि जान्छु’ भनेकी अनिता झुन्डिएको अवस्थामा मृत फेला परेको थिइन् ।
माथि उल्लेखित घटना त केही प्रतिनिधिमूलक मात्रै हुन् । पछिल्लो समय महिलामाथि हुने गरेका घरेलु हिंसाका घटनाले नेपालमा महिलामाथि हुने गरेको ज्यादतीको चित्र बोल्छ । प्रहरीबाट मुद्दा नटुङ्गिएपछि यस्ता अनगिन्ती घटना अदालतमा विचाराधीन छन् । महिला हिंसाविरुद्ध पर्याप्त ऐन-कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएका छन् । प्रहरी प्रशासनबाट अदालतसम्म पुग्दा कतिपय घटनामा झन्झट बेहोर्नुपर्ने अवस्थाले पीडितले झनै पीडा भोग्नुपरिरहेको छ ।
महिला अधिकारकर्मी मोहना अन्सारी बिहेमा ‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीलाई कन्यादान गर्ने परिपाटीका कारण पनि महिलामाथि दोहोरो विभेद र अत्याचारका घटना भइरहेको बताउँछिन् ।
माइतमा दुःख बिसाउन गाह्रो मान्ने गरेको र समस्या झन बढ्ने गरेको उनको भनाई छ । ‘हाम्रो समाज छोरीलाई सन्तानकै रूपमा नहेर्ने र छोरीलाई परेको समस्यालाई समस्या नै नठान्ने मनसायबाट ग्रसित छ’ उनले भनिन् । यसकै कारण पनि उनीहरूले माइतकालाई पीडा पोख्न नसकेको उनको ठम्याई छ ।
‘छोराको प्राथमिकताले छोरीलाई बिहे गरेर गइसकेपछि उनीहरूको समस्या आफ्नो नभएको सोच माइती पक्षमा हुन्छ,’ उनी भन्छिन्, ‘हाम्रो समाजमा सम्बन्ध विच्छेद भएकी छोरीलाई घरमा राखेमा समाजले के भन्छ भन्ने डर माइती पक्षलाई रहन्छ । चाहे उनीहरूको अनुहारमा चिथोरिएको घाउ किन नहोस्, सिन्दूर पोते लगाएर समाजमा देखिने गरी हाँस्नुपर्छ भन्ने मान्यता छ ।’
यस्तै मनोविद् गंगा पाठक नेपाली समाज महिलामैत्री र महिलाको पक्षमा नभएको बताउँछिन् । बलात्कारजस्ता जघन्य अपराध निरन्तर भइरहनुमा समाजको सोच जिम्मेवार रहेको उनको भनाई छ । यौन हिंसामा परेका पीडितको मानसिक सुरक्षामा पनि राज्यले खासै ध्यान नदिँदा पछिल्ला घटना घटिरहेको उनको भनाई छ ।
‘हिंसामा परेका पीडितलाई मनोवैज्ञानिक परामर्श दिने, सुरक्षित स्थलमा राख्ने काम कति भएको छ भन्दा छैन ?’ उनले प्रश्न गर्दै भनिन्, ‘राज्यले यसबारे चासो नै दिएको छैन । त्यस्तै सोधपुछ, बयानजस्ता प्रक्रियाले पीडितलाई असर पुर्याइरहेको हुन्छ। बालिकाहरू त झनै समस्यामा हुन्छन्। कल्पना गरौँ त, हिंसाको सिकार भएकी एउटी महिला कस्तो भयावह मानसिक अवस्थाबाट गुज्रिन्छिन् होला ? के राज्यले उनको मानसिक स्वास्थ्यको जिम्मा लिनुपर्दैन ?’
बालबालिकालाई हिंसाबाट जोगाउन घरमा खुलेर भन्ने वातावरण सिर्जना गरिनुपर्नेमा उनको जोड छ । छोरीहरू अहिले पनि दबाइएका छन् । त्यसैले उनीहरू नातेदार, आफन्तबाटै सिकार बनिरहेका छन् । त्यसैले पनि विद्यालयहरूमा शिक्षा र सचेतनाको आवश्यकता रहेको उनको भनाई छ ।
‘अब हामीले नेपाली सोचको सिकार मानेर महिला र बालबालिकामाथिको अत्याचारबारे चुप लाग्नु हुँदैन’ उनले भनिन्, ‘यसका लागि सामूहिक सोच र सबैभन्दा ठूलो कुरा राज्यले पीडक पुरुषलाई सजाय दिनुपर्छ भने पीडित महिलाको संरक्षण गर्न अपरिहार्य छ ।’