मधुमेह भनेको मानिसको रगतमा चिनीको मात्रा अत्यधिक बढी हुने अवस्था हो। शरीरमा इन्सुलिनको कमीले गर्दा मानिसमा मधुमेह हुन्छ। मधुमेहले युवालाई गरिरहेको असर र त्यसले ल्याउन सक्ने समस्याका विषयमा आधारित भएर जनरल फिजिसियन डा. युएन पाठकसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
पहिला विकसित देशमा डाइबेटिज देखिन्छ भनिन्थ्यो। तर, पछिल्लो समय धेरै नेपालीमा देखिएको छ, यो समस्यालाई हामीले कसरी बुझ्ने ? हामी आफूले आफूलाई अविकसित भन्छौँ। तर पनि यो रोग बढिरहेको छ। हाम्रो छिमेकी मुलुक चाइनामा यो रोग धेरै छ, त्यसैले चाइनालाई विश्वमा सबै भन्दा ठूलो डाइबेटिजको राजधानी भनिन्छ। १० देखि २० वर्षपछि त्यो इन्डियामा पनि सरेको छ। संसारभर यो धनी गरिब दुबैमा छ। हाम्रो नेपालमा पनि धनी, गरिब, धेरै खाने, कम खाने सबैमा यो रोग छ।
के कारणले गर्दा यस्तो भइरहेको छ ? खानपानको कारणले पनि यो बढी भएको छ किनकी हामी सेतो चामल बढी खान्छौँ। अहिलेसम्म सेतो चामल र जंग फुड धेरै खानेमा डाइबेटिज भएको पाइएको छ। हामी खाना घरमा पकाउँदैनौँ बाहिरको खाना खान्छौँ त्यसमा पनि शारीरिक व्यायामको कमी छ। पहिला मानिस खेतबारीमा काम गर्थे तर अहिले हामी अफिसमा काम गर्छौँ। अल्कोहल सेवन गर्छौँ। मुख्य रूपमा खाना, व्यायाम, अल्कोहल र बाहिरबाट आएका विभिन्न प्रकारका केमिकलको प्रयोग गरेर बनाएका खाना खाँदा यो रोग बढेको छ।
कस्तो व्यक्तिमा यो समस्या धेरै छ ? पहिले सहरका मानिस जो धेरै खाने हुँदा मोटा हुन्थे । तर, अहिले गाउँका मानिसमा पनि धेरै देखिएको छ। गाउँमा बढ्नुको कारण भनेको सामान्य परिवारको मान्छे बाहिर गएर पैसा कमाएको छ। त्यो पैसाले परिवारका सदस्य खेतीपाती गर्न छोडेर बाहिरका खाना बढी खाने गर्नुहुन्छ त्यसले गर्दा खेती गर्नेको सङ्ख्या कम भयो र व्यायामको कमी भयो। पहिला हाम्रो चामल मोटो थियो। हामी बोइल राइस खान्थ्यौँ तर, अहिले त्यसको सट्टामा इन्डियाबाट आएको सेतो बास्मती खाना लाग्यौँ। डाइबेटिज २ प्रकारको हुन्छ, टाइप १ डाइबेटिज जुन १४ वर्ष मुनिका बच्चामा हुन्छ र टाइप २ डाइबेटिज ४० वर्ष माथिका मानिसलाई हुन्छ। अर्को गर्भवती महिलाहरूमा तेस्रो टाइपको डाइबेटिज हुन्छ। (जिडिएम)जुन गर्भावस्था मधुमेह जति धेरै महिलामा शारीरिक व्यायामको कमी हुन्छ र कोहीको वंशाणुगत रूपमा आमा बाबालाई छ भने त्यस्तो महिलामा त्यसको चान्स बढी हुन्छ।
डाइबेटिज हुँदा शरीरमा कस्तो लक्षण देखा पर्दछन् ? पहिला आफ्नो शरीरको बनावटमा एक्कासी तौल घट्यो। तिर्खा धेरै लाग्यो, भोक लाग्यो भने मलाई डाइबेटिज भएको हो कि भनेर बुझ्नुपर्छ। तर, कतिपयलाई लक्षणहरू देखिँदैनन्। तर, जाँच गर्दा यो डाइबेटिज देखा पर्दछ। त्यसैले ४० वर्ष कटेको मान्छे एक पटक स्क्रिनिङ गराउन हामी आग्रह गर्छौ। अहिले धेरै मान्छे विदेश जान्छन्। तिनीहरूको स्क्रिनिङ हुन्छ र हामी उनीहरूमा डाइबेटिज भएको नभएको पत्ता लगाउँछौँ। विदेशमा गएर उनीहरूले डबल डिउटी गर्नका साथै समयका खाना पाउँदैनन्। एकै पटक धेरै खाने र खादा पनि सेतो चामल बढी खाने हुँदा उनीहरूमा डाइबेटिज हुने चान्स धेरै हुन्छ। विदेशमा गएर हाम्रो उनीहरूले पैसा मात्र होइन मधुमेह पनि पठाइरहेका छन्।
बालबालिकामा देखा परेको सुगरलाई कसरी उपचार गर्न सकिन्छ ? बालबालिकामा हुने भनेको टाइप १ डाइबेटिज हो। त्यसमा पनि कसैलाई भाइरल इन्फेक्सन पनि हुन्छ। पहिला हामीले बालबालिकामा के कारणले भएको हो भनेर पत्ता लगाउँछौँ।
युवामा वा उमेर बढ्दै जाँदाको उपचार चाहिँ कसरी हुन्छ ? पहिला कस्तो डाइबेटिज हो त त्यो हामीले पत्ता लगाउँछौँ त्यसको लागि हामीले तीन वटा जाँच गर्छौँ। एउटा फस्टिङ ब्लड सुगर, अर्को खाना खाएको २ घण्टा पोस्ट प्रन्डियल र अर्को एचबीएमसी जो अन्तिम तीन महिनाको संकेत गर्दछ। हाम्रो नेपालमा हामी फस्टिङ ब्लड सुगर र पोस्ट प्रन्डियल नै गर्छौँ। किनभने एचबीएमसी महंगो छ र धेरै मानिसले त्यसलाई धान्न सक्दैनन्। हाई छ भने सुरुको अवस्थामा बिरामीको तौल कति छ धेरै नै छ भने त्यो घटाउने, क्यालोरी धेरै खाएको छ भने त्यो घटाउने, अफिसमा बसेर काम गरेको छ भने, व्यायाम गराउने, कम्तीमा ५ किलोमिटर ५० मिनेटमा हिँड्ने र शारीरिक व्यायाम गराउने गर्छौँ। मोबाइल प्रयोग गर्नेले घन्टौँ प्रयोग गर्दा पनि त्यसले असर गर्दछ। मेडिकल साइन्सले पनि भनेको छ कुनै ठाउँमा दुई घण्टा भन्दा बढी बस्नु नै हुँदैन। उठी हाल्ने एक छिन कतै गएर आएर बस्ने। चिकेन र माछालाई भन्दा बाहेक अरू मासुलाई हटाएर हरियो सागपात सलाद खाने। कहिले काहीँ त्यसो गर्दा पनि हाइ छ भने हामीले तत्काल इन्सुलिन दिएर सुगरलाई नियन्त्रण गर्छौँ। किनभने सुगर धेरै हाइ छ चक्कीले काम गर्न ३६ देखि ७२ घण्टा समय लाग्छ र तत्काल इन्सुलिन दिनु पर्दछ।
सुगरको औषधि बाँचुन्जेल नै खानु पर्ने हो ? धेरै बिरामीहरू यो औषधि म खाँदिन जीवन भरी खानु पर्दछ भन्नु हुन्छ। बाँच्नको लागि दिनमा चार पटक खाना खाँदा हुने तर,एक चक्की औषधि खान सकिँदैन ? औषधि खाएर शारीरिक व्यायाम गरेर नियन्त्रण गरेको छ भने औषधि सधैँ खानु पर्छ भन्ने हुँदैन। यदि हाइ छ भने त्यसले शरीरको अंगहरु आँखा, ब्रेन र मुटुलाई ड्यामेज गराउँछ। त्यसको उपचार छदै छैन भन्दा पनि हुन्छ। थोरै छ। तर, आफूले ध्यान दियो भने यो आफै कन्ट्रोल हुन्छ।
रोग भएर पनि हेलचेक्र्याइँ गरेमा पछि कस्तो जोखिम हुन्छ ? यो व्यक्तिगत भन्दा पनि समाजको नै त्रुटि हो। किनभने हाम्रो शिक्षामा स्वास्थ्यलाई सानै कक्षादेखि राखिएको छैन। सुगर छ तर पनि मिठाई खान लाग्यो भने मान्छे बेहोस हुन सक्छ। बान्ता हुन सक्छ। २० देखि २५ प्रतिशतको त मृत्यु हुनसक्छ। केही नगरी यताउता गर्ने जाँच नगर्ने गर्दा त्यो क्रमिक फेजमा जान्छ। त्यसको असर केही वर्ष पछि उच्च रक्तचाप हुनसक्छ, किड्नी फेल हुनसक्छ। प्यारालाइसिस हुन सक्छ, आँखामा अचानक अन्धोपन हुन सक्छ। धेरै मान्छे यो उपचार काम नै छैन भनेर बीचमा छोडिदिन्छन्। उपचार गर्दा गर्दै छोडेर एउटा को हो को हो चर्चित ‘बाबा’सँग औषधि छ भनेर त्यता पुग्छन्। आयुर्वेदिक चलाउँछु भनेर झन् अप्ठ्यारो अवस्थामा अस्पताल आएका छन्। नेपालमा डाक्टरको कम समयले पनि यो रोगको बारेमा जनचेतना धेरै फैलिन पाएको छैन। जसले गर्दा पनि मानिसमा मधुमेह दिन प्रति दिन बढ्दै गएको छ।
सुगर हुँदा कस्तो खाना खाने र कस्तो नखाने ? सिधै सुगर नखाने जस्तोः चक्लेट, मिठाइहरू नखाने, चामल धेरै नखाने, घरमा बनेको खाना खाने तर थोरै खाने, मटन धेरै नखाने, हरेक कुराको स्वाद लिने तर मात्रा पुर्याएर खाने तर धूम्रपान मद्यपान नखाने।
समस्या भइहाले अब यस्तो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? जसको तौल धेरै छ भने मिलाउने जस्तोः ४० वर्षको मान्छेमा ८० केजी तौल छ भने हाइटको हिसाबका ६५ केजी तौलमा राख्ने । नियमित शारीरिक व्यायाम गर्ने, स्वच्छ हावामा हिँड्ने र हिँड्दा अलिअलि पसिना आउनु पर्यो, मुटुढुक ढुक हुनु पर्यो त्यसरी कम्तीमा पनि ५० मिनेट हिँड्ने। हरियो सागपात धेरै खाने, बढी जोड प्राकृतिक खानामा दिने गर्नुपर्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत