चिरीबाबु महर्जनको फेसबूकबाट

राजनीति

असम्बन्धित व्यक्तिसँग भेट गरेको छैन : प्रमुख महर्जन

By खबरहब

November 16, 2022

काठमाडौँ– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आसन्न निर्वाचनका क्रममा असम्बन्धित व्यक्तिसँग आफूले कुनै भेटघाट नगरेको प्रष्ट पारेका छन्। 

केही दिनअघि ललितपुर क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवारले आफूसँग जोडेर फेसबुक पेजमा लेखेको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले त्यस्ता व्यक्तिसँग प्रत्यक्षरूपमा नभेटेको र नदेखेको बताए । ‘मैले प्रत्यक्षरूपमा भेटेको र देखेको पनि छैन, भेटेर कुराकानी भएको भन्ने कुरा तथ्यहीन एवं भ्रामक छ’, प्रमुख महर्जनद्वारा आज जारी वक्तव्यमा जनाइएको छ । 

उनले नेपालकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू ललितपुर महानगरपालिकाको प्रमुख पदमा दोस्रोपटक निर्वाचित भएको जनाएका छन् । ‘नेपाली कांग्रेस पार्टीको एक ‘बफादार सिपाही’ भएको नाताले पार्टीबाट भएको निर्णय नै मेरो अन्तिम निर्णय हो’, उनले भने। 

प्रमुख महर्जनले सामाजिक सञ्जालबाट मनगढन्ते, भ्रामक र कपोलकल्पित कुरा सम्प्रेषण गर्नु राजनीतिक संस्कारविपरीतको कुरा भएको बताए। वक्तव्यमा भनिएको छ, ‘कपोलकल्पित एवं मिथ्या कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरी सर्वसाधारणलाई अन्योलमा पार्ने उक्त स्टाटसमा लेखिएको कुरा सत्य नभएको र निर्वाचन आयोगबाट जारी आचारसंहिताका कारण प्रचारप्रसारमा जान नपाएको यस्तो समयमा सम्प्रेषित उक्त विषयप्रति मेरो घोर आपत्ति रहेको छ ।’