राजनीति

‘बाँके क्षेत्र नं. ३ को विकास र परिवर्तन नै मेरो एजेन्डा हो’

By खबरहब

November 16, 2022

काठमाडौँ : चुनाव नजिकिदै गएका बेला बाँके क्षेत्र नं. ३ पनि चर्चामा छ । कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेद्वार बनेका छन् । नेपाल विद्यार्थी संघको राजनीतिदेखि सक्रिय उनी बर्दिया र बाँकेमा क्रियाशील नेता मानिन्छन् । सुशील कोइरालापछि बाँकेको कांग्रेस नेतृत्व सम्हाल्ने योजना बनाएका नेता राठौरले चुनावी अभियान तीव्र पारेका छन् । यसै परिवेशमा खबरहबले उम्मेद्वार राठौरसँग गरेको कुराकानीको सम्पादित अंशः

चुनावमा गठबन्धनबाट साझा उम्मेद्वार बन्नु भएको छ, राजनीतिक पृष्ठभूमिबारे के भन्नुहुन्छ ? विद्यार्थी राजनीतिदेखि मूलधारको राजनीति थालेपनि म सल्यानमा जन्मेको हुँ । काठमाडौंमै विद्यार्थी राजनीति गरेपनि मलाई ग्रामीण राजनीति र त्यसको भौगोलिक अवस्थाबारे थाहा छ । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौंमै पनि गर्न सक्दथेँ । तर पनि बाँके–वर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–वर्दियामा राजनीति गरिरहेको छु ।

तपाई बर्दियाबाट बाँके आउनु भयो, भित्री कारण के हो ? नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय शुशिल कोइराला र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भयो । सोही कारण विगतमा बर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसंग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पूल बनेको छ । त्यहाँ जति पनि विकासका बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो । त्यति धेरै विकास गरेको मैले स्वेच्छाले छाडेको भने होइन ।

अनि विकास गरेपछि क्षेत्र किन छाड्नुभयो नि त ? सत्ता गठबन्धनले देशभर भागबण्डा गरेको सर्वविदितै छ । त्यो भागबण्डा बाँके र बर्दियामा पनि भयो । गठवन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो । त्यति मात्रै होइन, बर्दिया विकास गर्दैगर्दा बाँकेलाई विकास गर्नुपर्ने धेरै पाटा छन् । धेरै सम्भावना छन् । त्यसको उजागर गर्न आएको हुँ ।

बाँके ३ मा तपाईले गर्ने विकास के हो ? कस्तो खालको हो ? विगतमा राजनीति शुरु गर्दा खासगरि बाँके र बदिर्याका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ‘ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मा पहाडबाट झरेका गरिबहरु, दलितहरु बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरु, मधेशी, मुस्लिम त्यसमा पछि पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु । किनकी अहिलेको मुख्य मुद्दा भनेको नेपालगञ्ज मात्रै होइन, समग्र बाँके र बर्दियालाई भौगोलिकसँगसँगै मन–मनले जोड्नुपर्ने आवश्यकता छ ।

तर यो क्षेत्रमा त विगतमा एमालेले जित्दै आएको छ, तपाईले कसरी जित्नुहुन्छ ? राजनीतिमा क्षेत्र कसैको हुँदैन । जनताले चाहेको आवश्यकता र एजेन्डामा जसले राजनीति गर्छ । उसले जित्ने हो । हिजोको दिनमा जनताले एमाले उम्मेद्वारलाई भोट हाले । तर विकास भएन । अवस्था जस्ताको त्यस्तै छ । समयक्रमअनुसार केही भएपनि धेरै हुन सकेन । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ । यहाँ अधिकाँश किसानहरुको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासंग जोड्नु आवश्यक छ ।

विकासे अरु एजेन्डा के के छन् ? विकासका लागि मैले बाँके र बर्दियामा धेरै पसिना बगाएको छु । नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म चार लेनको सडक बनाउन मैले ठूलो भूमिका खेलेको छु । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यसबाहेक बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो योजना र प्रतिबद्धता छ ।

अन्तिममा, के भन्न चाहनुहुन्छ ? मैले अहिलेसम्म विकास र परिवर्तनका लागि राजनीति गरेको छु । यसपटकको चुनावमा पनि बाँके क्षेत्र नं. ३ मा विकास र परिवर्तनकै लागि उम्मेद्वारी दिएको हुँ । गठबन्धनको साझा उम्मेद्वार भएकाले यहाँका मतदाताले यसपटक मलाई मत दिन्छन् भन्ने विश्वास छ । बाँके क्षेत्र नं. ३ को विकासका लागि तपाई मत दिनुस, म परिवर्तन गर्छु भन्न चाहन्छु ।