अन्तर्वार्ता

बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको सम्भावना

By खबरहब

December 16, 2022

सत्ता गठबन्धनबाट बागमती प्रदेश सभा सदस्यमा काठमाडौँ १ (क) मा नेपाली कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन् । बागमती प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रीसमेत रहेका श्रेष्ठ कुनै पार्टीको उम्मेदवार भन्दा पनि त्यो क्षेत्रका समग्र मतदाताको जनप्रतिनिधि रहेको बताउँछन् । निर्वाचन परिणाम अबको सत्ता गठबन्धन र समसामयिक राजनीतिका विषयमा बागमती प्रदेशका संस्कृति मन्त्री दीपेन्द्र श्रेष्ठसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश सभामा भारी मतान्तरले विजयी हुनुभएको छ । चुनाव जित्न मन र मत केले महत्त्वपूर्ण भूमिका खेल्ने रहेछ ? काठमाडौँ भनेको चेतनशील व्यक्तिहरू बसेको ठाउँ हो । मैले २०७४ सालमा निर्वाचित भएपछि आफूले बोलेका कुराहरू गर्न सफल भएँ । जनताको मनमा एउटा सच्चा प्रतिनिधि भएर काम गरेँ । जनताको मनै जितेको कारणले मैले पुनः प्रदेश सभा सदस्य जितेको हो । सचेत जनताको मन जितेर म आएको हुँ ।

एउटा उम्मेदवारलाई निर्वाचित हुन पार्टीको कस्तो भूमिका रहन्छ ? पार्टीकोको अभिमतले गर्दा उम्मेदवारलाई अहिले सहज पार्दछ । तर, अहिले पार्टी भन्दा पनि मतादातामा व्यक्ति हर्ने प्रवृत्ति बढी देखिएको छ ।

एउटा व्यक्तिले पार्टीबाट पटकपटक टिकट पाउन के कुरा चाहिने रहेछ ? पार्टीले टिकट दिँदा दोहो¥याएर धेरैलाई टिकट दिएन । धेरै पटक सांसद भएका व्यक्ति पनि पराजित हुनुभएको छ । हिजो सांसद भएर केही काम नगरेको कारणले यो पटक पराजित हुनुभयो । यो कुरा उहाँहरुले बुझ्नुपर्छ । मतदाताले व्यक्तिको चरित्र र क्षमताको मूल्यांकन गरेको देखिन्छ ।

गठबन्धनको जस र आक्रोशलाई कसरी लिनु भएको छ ? अहिलेको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीलाई आधार मान्दा एकल बहुमत ल्याउन सक्ने स्थिति थिएन । गठबन्धन स्वभाबिक हो । तर, जुन परिणामले मत आउँछ भन्ने थियो त्यो भएन । गठबन्धनका उम्मेदवारले नै जिम्मेवार भएर मत नल्याएको पनि पाइएको छ । पार्टीलाई बढी आउनु पर्ने मत व्यक्तिलाई आयो । जुन मैले पाएँ । त्यसको मुल कारण भनेको व्यक्तिले पार्टीगत आस्थाको लागि भन्दा पनि ब्यक्तिगत रुपमा यसले बोल्न र नेतृत्व गर्न सक्छ भन्ने मतदाताको विश्वास हो जस्तो लाग्छ ।

पहिले र अहिले तुलना गर्दा एउटा उम्मेदवारका चुनौती कस्ता छन् ? पहिला मैले निर्वाचित हुँदा गरेका प्रतिबद्धता पूरा गरेकैले दोस्रो पटक निर्वाचित भएको हुँ । आफूले गरेका प्रतिबद्धता पूरा गरेपछि नै मतदाताले विश्वास गर्नुभएको हो । अहिले मतदाताका अपेक्षा धेरै छन् । अब प्रतिबद्धता पूरा गर्ने चुनौती मेरा सामू देखेको छु ।

जिताएर पठाउने मतदाताले तपाईंबाट अब के पाउँछन् ? यसपालिको मतदानमा मैले धेरै राम्रो मत पाएँ । मलाई सबैले यो कांग्रेसको उम्मेदवार भनेर नहेरी एउटा जनप्रतिनिधि भनेर जिताउनुभएको छ । म जनताको नोकर हुँ । जनताका आवाजहरू उठाउने र जनताको भावना बुझ्ने काम गर्छु ।

एउटा सांसद भएपछि उसको जिम्मेवारी केके हुनेरहेछ ? नीति निर्माण गर्ने, प्रदेशको कुरामा ६५ वटा नीतिहरू निर्माण भए । बाँकी ३५ वटा विधेयकहरू बाँकी छन् । शून्य समयमा मुलुकको जल्दो बल्दो समस्यालाई ध्यान दिने हो । स्थानीय कुरा धेरै पुरा भएका छैनन् । जस्तो, खानेपानी, ढल, ट्राफिक जाम लगायतका समस्या पनि हाम्रोमा आउँछन्।

संसदमा पुगेर आफ्नो कुरा राख्दैमा त्यसलाई योग्य सांसद मान्ने ? मसँग स्थानीय समस्याका कुराहरू आउँछन् । मलाई मेरो जिम्मेवारी थाहा छ । जनताको समस्या पनि पुरा गर्नेछु । हामीले विभिन्न ढल व्यवस्थापन गरेका छौँ । कला र संस्कृतिको संरक्षण गरेका छौँ ।

आम निर्वाचनमा संघको चर्चा बढी र प्रदेशको कम हुन्छ किन ? सबैले संघात्मक राज्य प्रणालीलाई अंगिकार गरेकैले आज मुलुकमा संघीय राज्य व्यवस्था छ। विश्वको एकात्मक राज्य व्यवस्था भएको देशलाई हेर्दा अहिले समृद्ध राष्ट्र भएका छन् । संघीय सरकारले बजेटको आकार सानो बनायो, आवश्यक संघीय कानुन बनिसकेका छैनन् । त्यसले अहिले केही कमजोर देखाए पनि संघीयता कमजोर होइन ।

संघमा भाग नपुगेर प्रदेशमा कार्यकर्ता थन्क्याएको आरोप छ नि ? संघीयतामा प्रदेश सरकार आएपछि विकासका अध्याय सुरु भएका छन् । प्रदेशको पूर्वाधार स्थानीय सामुदायिक हितको लागि योजना ल्याएको देखिन्छ । यसको लागि कुल बजेटको आकार बलियो हुनुपर्छ ।

बागमती प्रदेशमा सात वटा मन्त्रालयलाई फुटाएर १४ बनाइयो । यो अवस्थाबाट के बुझ्ने ? यो त प्रदेशको मर्ममाथि नै प्रहार भएन ? यो मन्त्रालय विभाजन हुनु आवश्यक थियो। हिजो, वन मन्त्रालय, संस्कृति र विकास मन्त्रालय, पर्यटन मन्त्रालयलाई एकै ठाउँमा राखिएको थियो । त्यो हुँदा वन मन्त्रालयले वन मात्र हेर्यो । संस्कृतिको बारेमा केही गरेन । अहिले यो छुट्दै हुँदा परिणाममुखी काम भएका छन् । यत्तिले मात्र पुग्दैन प्रदेश सरकारलाई बलियो बनाउन कुल बजेटलाई बढाएर बलियो बनाउनुपर्छ ।

अब बागमती प्रदेशको मुख्यमन्त्री को बन्ने ? बागमती प्रदेशको मुख्यमन्त्रीको विषयमा दलका नेताहरू बसेर निर्णय गर्नुहुन्छ । यो विषयमा गठबन्धन भित्र छलफल हुनुपर्छ । ठूलो दलको नेताको हिसाबले अहिले इन्द्र बानियाँको सम्भावना धेरै छ । (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता) –प्रस्तुति : पुष्पाञ्जली बस्नेत