अपराध

वीरगञ्जको गोदामबाट २१ लाख बढीको सामग्री बरामद

By खबरहब

December 16, 2022

वीरगन्ज– भारतबाट तस्करी गरेर वीरगञ्जमा भण्डारण गरी राखिएका खाद्यान्नलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदालगायतका सामान बरामद गरिएको वीरगञ्जले जनाएको छ। 

सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी रानीघाटका चारवटा गोदाममा छापा मारेर ती सामान बरामद गरेको हो । 

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मूल्यका सामान बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

बरामद सामग्रीहरू अनुसन्धान तथा आवश्यक कारबाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।