विचार

नेपाली राजनीतिमा विद्रोही युवा नेतृत्वको प्रवेश

By देवेश झा

January 17, 2022

मंसिर महिनामा सम्पन्न भएका शीर्ष दलहरूको महाधिवेशनको चर्चा सेलाइसकेको छ ।

वामपन्थी नामधारी दलहरूले महाधिवेशनमार्फत प्रमाणपत्रको नवीकरण गर्न भ्याए भने नेपाली काँग्रेसमा परिवर्तन खोजिरहेको फरक नेतृत्वको तीव्र आकाङ्क्षालाई सत्ता र सामर्थ्यले दिग्भ्रमित बनायो ।

बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा परिवर्तनका पक्षमा केही सकारात्मक प्रभाव देखिए । तर, तत्कालका लागि राष्ट्रिय राजनीतिमा राप्रपाको निर्णायक भूमिका नहुँदा यसले महाधिवेशनमार्फत चर्चित हुने अवसर पाउनुमा सन्तोष गर्नुपर्ने अवस्था छ ।

यी सम्पूर्ण परिदृश्यले एक प्रकारको गम्भीर राजनीतिक दिशातर्फ राष्ट्रलाई अग्रसर हुनुपर्छ भन्ने स्पष्ट सन्देश दिन खोजेको छ र त्यो भनेको अबको सम्भावित नेतृत्व हो । यसपटक राष्ट्रिय राजनीतिमा नेतृत्व तहको अवसर प्राप्त गर्न सफल युवाहरू सङ्घर्षशील र जुझारु स्वभावका छन् ।

मङ्सिर महिनाभित्र महाधिवेशनको सुरुवात नेकपा (एमाले) बाट भयो । यथास्थितिको निरन्तर अभ्यासलाई परिवर्तन गर्ने चाहनाअनुसार त्यहाँभित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले विश्राम लिनुपर्ने स्वरहरू मुखरित भए तर एमाले विभाजित भइसकेकाले माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमजस्ता समकक्षी नेताहरू नहुँदा उनलाई चुनौती दिनसक्ने खास अवस्था थिएन ।

तथापि सर्वसम्मत चयन भएर ऐतिहासिक उदाहरण कायम गर्न सक्ने उनको चाहनालाई परिवर्तनका पक्षधरहरूले तुहाइदिए ।

प्रकृतिको शाश्वत नियमविपरीत जानेहरूका लागि यो पनि एकप्रकारको साङ्केतिक चेतावनी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई यसपटकको महाधिवेशनले धेरै विषयमा चर्चित बन्ने अवसर दिएको छ । परिवर्तनलाई आत्मसात् गरेर यथास्थितिको संकीर्ण घेरा भत्काउन सफल यसका प्रतिनिधिहरूले एउटा जनजाति भित्रका युवालाई दलको नेतृत्व सुम्पिदिए ।

पछिल्लो संसदीय निर्वाचनमा झापाबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाएर राप्रपा अहिले परिवर्तनको संवाहक बनेको छ । जसको प्रष्ट दृश्य नेपाली काङ्ग्रेसको महाधिवेशन उद्‍घाटन हुने क्रममा देखियो ।

जब विगतमा प्रतिगमनकारी शक्ति भनेर आलोचित दलका प्रमुखको हैसियतमा पार्टी अध्यक्ष लिंग्देनले आलोचकहरूकै सामुन्ने उभिएर कटु आलोचना गरे र उपस्थित काँग्रेस कार्यकर्ताबाट समेत सराहना प्राप्त गर्न भ्याए ।

नेपाली काङ्ग्रेसको महाधिवेशन सुरुवातमा परिवर्तनको तीव्र आकाङ्क्षा बाट प्रेरित देखिन्थ्यो । सभापति शेरबहादुर देउवाको समर्थन र विरोधमा ठाडो विभाजित मानसिकता बोकेर आएको देखिएका प्रतिनिधिहरूबाट यसपटक गम्भीर निर्णय दिइने आशा गरिएको थियो, जुन केही हदसम्म भएको पनि देखिन्छ ।

सभापति पदका लागि उम्मेदवार बनेका चार जनामध्ये देउवाबाहेक बाँकी सबैले उनी विरुद्ध उम्मेदवार बनेको दाबीसमेत गरेका थिए ।

संघर्षको प्रक्रियालाई बहसको विषय बनाउन सकिन्छ तर राउतद्वारा उठान गरिएका मुद्दालाई कसैले पनि अन्यथा भन्न सकिँदैन । हुन त समकालीन राष्ट्रिय राजनीतिमा स्थापित शक्तिहरूले विगतमा यसभन्दा बढी वीभत्स बाटाहरु अवलम्बन गरेका थिए नै ।

परिणाम पनि खोजेजस्तै आएको थियो । सभापति शेरबहादुर देउवालाई पहिलो चरणमा बहुमत पुगेन । अर्थात् उनका विरुद्ध बहुमत रहेछ भन्ने प्रमाणित भयो । पार्टी विधानअनुसार सभापतिका उम्मेदवारमध्ये कसैलाई ५१ प्रतिशत नआएको खण्डमा धेरै भोट ल्याउनेमध्ये दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने व्यवस्था थियो । र, विधानअनुरूप भयो पनि । प्राविधिक रूपमा दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवाले चुनाव त जिते तर मतादेश के छ त  ?

देउवालाई कटु आलोचना गर्दै आएका गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिवेशन प्रतिनिधिहरूले महामन्त्रीका रूपमा भारी बहुमतले विजयी बनाएका छन् ।  त्यसैगरी अर्का आलोचक धनराज गुरुङलाई उपसभापतिको जिम्मेवारीबाट विभूषित गरिएको छ । गगन थापाले सभापति पदका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन जनाएका थिए भने विश्वप्रकाश शर्माको समर्थन प्रकाशमान सिंहलाई थियो ।

यी सबै युवाहरू पार्टीभित्र सङ्घर्षशील र वैचारिक आधार प्रस्तुत गर्न सक्ने नेता मानिन्छन् । स्पष्ट देख्न सकिन्छ कि, दोस्रो चरणमा महाधिवेशन प्रतिनिधिहरू सामर्थ्य र सत्ताबाट प्रभावित भए तर जुझारु युवाहरू भविष्यका कर्णधार बन्न सक्ने सम्भावनालाई पनि सँगसँगै स्थापित गराइदिए ।

मधेस केन्द्रित भनाउन रुचिकर नमान्ने तर मधेसकेन्द्रित राजनीति गर्ने दलहरूलाई महाधिवेशन गर्नुपर्ने कानूनी बाध्यता छैन । तथापि परिवर्तनको चाहना मधेसमा पनि सुन्न सकिन्छ र त्यसलाई आवाज दिएका छन् सिके राउतले । मलखादको अभाव, वृद्ध भत्ता वितरण र प्रदेश तथा स्थानीय तहमा हुने गरेको बेथितिलाई मुद्दा बनाएर उनी आफ्नो नवगठित दल जनमत पार्टीमार्फत सडक संघर्षमा छन् ।

संघर्षको प्रक्रियालाई बहसको विषय बनाउन सकिन्छ तर राउतद्वारा उठान गरिएका मुद्दालाई कसैले पनि अन्यथा भन्न सकिँदैन । हुन त समकालीन राष्ट्रिय राजनीतिमा स्थापित शक्तिहरूले विगतमा यसभन्दा बढी वीभत्स बाटाहरु अवलम्बन गरेका थिए नै ।

माओवादी पार्टीको महाधिवेशन पनि वामपन्थीद्वारा वैश्विक स्तरमा नै अंगिकार गरिएको जनवादी केन्द्रीयताको निरन्तर अभ्यासमा सीमित रह्यो । एमालेजस्तै माओवादीमा पनि मोहन वैद्य, बाबुराम भट्टराई लगायतका समकक्षी नेताहरूको बहिर्गमनपछि अध्यक्ष प्रचण्डलाई कुनै प्रकारको चुनौती छैन । त्यसैले पार्टी अध्यक्षमा उनको पुनरागमनबारे खासै चर्चासमेत भएन ।

वैचारिक आधारमा सबैभन्दा क्रान्तिकारी चरित्रका देखिने माओवादी पार्टीलाई पनि यथास्थितिवादको घेराभित्र रमाउन मञ्जुर हुँदै गएको देखिन्छ । सामान्यतः समाजको चरित्र स्थूल स्वभावको हुने गर्दछ । यसलाई कहिलेकाँही झट्का पनि हान्नुपर्ने हुनसक्छ र सम्भवत प्रकृतिले यही परिस्थितिलाई आँकलन गरेर हरेक दलभित्र युवालाई अवसर दिलाउन खोजेको हुन्छ । विप्लव लगायतका युवाहरू त्यही विचारका प्रतिनिधित्व हुन् तर उनीहरू पनि बहिर्गमित भए वा बाध्य पारिए ।

एमालेबाट बहिर्गमन गरेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको राजनीतिक दल नेकपा (एस) ले औपचारिकता प्राप्त गर्दासम्म उनीसँग आबद्ध कतिपय महत्वपूर्ण नेताहरू मातृदल मै फिर्ता भए पनि आफ्नो प्रभावशाली भूमिकाबाट यस सम्पूर्ण प्रकरणमा चर्चित रहेकी नेत्री तथा वर्तमान मन्त्री रामकुमारी झाँक्रीलाई उक्त दलभित्रको भविष्यको रूपमा देख्न सकिन्छ । पिर्के सलामी जस्ता विवादास्पद विषयबाट उनले आफूलाई जोगाउन सक्नुपर्ने हुन्छ ।

समयचक्रको पनि कालखण्ड हुन्छ । यसमा सबैलाई एकसमान अवसर प्राप्त हुँदैन । यी युवाहरूलाई समयले चयन गरेको देखिन्छ । अर्थात् अब आउने दिनमा नेपाली समाजलाई चुस्त, फुर्तिला र सतर्क नेतृत्व चाहिन्छ ।

वर्तमान नेपालको राजनीतिक क्षितिजमा राजेन्द्र लिङ्देन, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, रामकुमारी झाँक्री, विप्लव र डा. सिके राउतजस्ता युवाहरूलाई देख्न सकिन्छ । फरक फरक दृष्टिकोण र मार्गचित्र बोकेर आ–आफ्नै तरिकाबाट अगाडि सर्दै आइरहेका यी सबैबीच क्रान्ति, संघर्ष र यथास्थितिलाई परिवर्तन गराउने चाहना बोकेको देख्न सकिन्छ ।

उमेरको कारणले पनि यसप्रकारको अग्रगामी विचारहरूले मानिसलाई कहिलेकाँही प्रभावित बनाउने गर्दछ । यी युवाहरूले वास्तवमा नै देश र समाजको शिथिल जीवनचक्रलाई गतिमान बनाउन खोजेका हुन् अथवा सतही जोश जाँगर देखाएर मौकामा चौका हान्ने मै सीमित रहने सोच छ यसबारे परीक्षण प्रारम्भ भइसकेको छ ।

प्रकृतिको शाश्वत नियम हो परिवर्तन । त्यसैले यसलाई जतिसुकै रोक्ने प्रयास गरेपनि सम्भव हुँदैन । नेपालको राजनीतिक क्षितिजमा पनि परिवर्तनका लागि तीव्र आकाङ्क्षा प्रस्फुटन हुन लागेको देखिन्छ । लगभग हरेक दलभित्र युवाप्रति विश्वास र आकर्षण बढ्दो क्रममा रहेको छ र प्राकृतिक सिद्धान्त अनुरुप नै जुझारु तथा सङ्घर्षशील युवालाई पहिलो रोजाइको रूपमा लिइएको देखिन्छ । अब आफूलाई प्रमाणित गर्ने अभिभारा यिनको आफ्नै काँधमा आएको छ ।

परिवर्तन त समयसापेक्ष रूपमा हुन्छ नै तर त्यसको संवाहक बनेर ऐतिहासिक उदाहरण कायम गर्ने अवसर सबैलाई प्राप्त नहुन सक्छ । समयचक्रको पनि कालखण्ड हुन्छ । यसमा सबैलाई एकसमान अवसर प्राप्त हुँदैन । यी युवाहरूलाई समयले चयन गरेको देखिन्छ । अर्थात् अब आउने दिनमा नेपाली समाजलाई चुस्त, फुर्तिला र सतर्क नेतृत्व चाहिन्छ ।

यिनले आफ्नो चरित्र जोगाउँदै विवेकयुक्त ढङ्गले नयाँ विचार र दृष्टिकोणसहित देशलाई दिशा दिन सकून् भन्ने आम जनविश्वास सफल होस् अन्यथा समयचक्रले परिवर्तनको संवाहक खोज्ने क्रम जारी रहनेछ ।